सम्पूर्ण अपडेट

नागढुंगा-नौविसे सडक खण्डमा सवारी आवागमन सहज बनाउन पहिरो पन्छाउन सुरु

224
Shares

धादिङ । पहिरोका कारण अवरुद्ध बनेको त्रिभुवन राजपथको नागढुंगा-नौविसे सडक खण्डमा सवारी आवागमन सहज बनाउन पहिरो पन्छाउने कार्य सुरु भएको छ ।

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा अवरुद्ध राजमार्ग आइतबार साँझ सञ्चालनमा आए पनि सो खण्डमा अझै धेरै ठाउँमा सडक एकतर्फी मात्रै भएकोले सवारी जाम लागेको छ ।

पर्व सुरु हुन लागेकोले राजधानीबाट बाहिरिने र राजधानी प्रवेश गर्ने सवारी निकै बढ्दै गएको र बढ्दो सवारी जामलाई मध्यनजर राख्दै आज बिहान ११ बजेदेखि मध्यान्न एक बजेसम्म सो राजमार्गमा दुबैतर्फ यातायात बन्द गरी पहिरो पन्छाउन थालिएको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार झ्याप्ले खोलामा खसेको पहिरो केही हटाएर सवारी सुचारु गरे पनि दर्जनौँ स्थानमा अझै पहिरो पन्छाई दुवैतर्फ सवारी सञ्चालन गराउन बाँकी भएकोले केही घण्टा सवारी रोकी काम गर्ने बताए ।
उनका अनुसार अब पृथ्वी राजमार्गमा पनि मध्यान्नसम्ममा सबै स्थानको पहिरो पन्छाई दुवैतर्फी यातायात सञ्चालन सुरु हुने छ ।

राजधानी प्रवेश गर्ने लाईफलाइन रुपमा मानिने त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामका कारण यात्रुहरूले दुःख भोग्न नपर्ने गरी काम गर्ने पनि प्रहरीले जानकारी दिएको छ ।