साउनमा महँगी ४.१० बढ्यो, शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा महँगी ४.१ प्रतिशतले बढेको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै खाद्यपदार्थ मूल्य ६.१७ प्रतिशत तथा गैर खाद्यपदार्थको मूल्य २.९४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखी उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । यसअघी आर्थिक वर्ष २०७१/७२ लाई आधार मान्दै महँगी वृद्धिसम्बन्धी तथ्यांक सार्वजनिक हुने गरेकोमा चालू आर्थिक वर्षदेखि आर्थिक वर्ष २०८०/८१ लाई आधार मान्दै महँगीको जानकारी प्रकाशित हुने राष्ट्र बैंकले जनाएको छ ।

साउनमा आयात ०.६ प्रतिशतले घटेको अवस्थामा रेमिट्यान्स प्रवाह १८ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति बचतमा गएको छ ।
राष्ट्र बैंकका अनुसार साउनमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ ।

शोधनान्तर स्थिति बचतमा जाँदा साउनमा विदेशी मुद्राको सञ्चिति बढेको छ । राष्ट्र बैंककाअनुसार साउनमा विदेशी मुद्राको सञ्चिति ३१ करोड डलरले बढेर १५ अर्ब ५८ करोड डलर पुगेको छ । जसले १३.५ महिनाको बस्तु तथा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, रेमिट्यान्स आप्रवाहमा भएको उच्च वृद्धिले साउनमा चालू खाता ३० अर्ब रुपैयाँले बचतमा गएको छ ।


क्लिकमान्डु