६ अर्ब ठगी आरोपमा जेलमा रहेका इच्छाराजको बयान: मेरो मुद्दा फिर्ता लिनुस्, ३ वर्षभित्र सबै पैसा फिर्ता गर्छु



काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले आफू, श्रीमती र छोरीहरुमाथि लगाइएको ठगी मुद्दा र सम्पत्ति शुद्धीकरण मुद्दा सरकारले फिर्ता लिने हो भने तीन वर्षभित्र सबै बचतकर्ताको बचत फिर्ता गर्ने दाबी गरेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भएको बयानमा उनले सहकारीको समस्या समाधानको उपाय उल्लेख गरेका छन् ।

‘आफू, श्रीमती र छोरीहरुमाथि लगाइएको ठगी मुद्दा र सम्पत्ति शुद्धीकरण मुद्दा सरकारले फिर्ता लिने हो भने तीनवर्ष भित्रमा सहकारीको नामामा रहेको सम्पत्ति बिक्री गरी र ऋणी सदस्यहरूबाट कर्जा रकम असुल उपर गरी सम्पूर्ण बचतकर्ता सदस्यहरूको निक्षेप रकम फिर्ता गर्न सकिन्छ,’ उनले भनेका छन् ।

सहकारीले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ७५ करोड ४३ लाख ६९ हजार रुपैयाँ ठगेको भन्दै दुई पटक सरकारले अभियोगपत्र दायर गरिसकेको छ ।

उक्त सहकारीको नाउँमा रहेको चल अचल सम्पत्ति बेचविखन गरी र सिभिल मलको सेयर र सहकारीका सदस्यहरूमा गरिएको कर्जा लगानी विषेश गरी ठूला ऋणीहरू लालकाजी गुरुङ र मिना गुरुङ समेतबाट कर्जा असूल उपर गरी समस्या समाधान गर्न सकिने उनको तर्क छ ।

‘सिभिल सहकारीको नाउमा रहेको घर जग्गा र सिभिल मल लगायतका चल अचल सम्पत्तिको बजार मूल्य करीब १९ अर्ब रुपैयाँ रहेको छ’ उनले समितिमा बयानमा भनेका छन्, ‘सिभिल सहकारीको बचतकर्ताहरूको निक्षेप दायित्व ६ अर्ब रुपैयाँ रहेको छ त्यसैले उक्त चल अचल सम्पत्ति बिक्री गरी सजिलै बचतकर्ताहरूको निक्षेप रकम फिर्ता गर्न सकिन्छ ।’

यसका लागि सरकारले आफू र आफ्नो परिवारमाथि दायर गरेको, ठगी तथा संगठित अपराध मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिइ आफूलाई कारागार मुक्त गर्न आग्रह गरेका छन् । सरकारले यति गरेमा तीन वर्षभित्र सहकारीमा आएको समस्या समाधान गर्न सकिने उनको दाबी छ ।

‘सहकारीको सञ्चालकहरुलाई थुन्नु समाधान होइन’ उनले समितिमा बयानका क्रममा भनेका छन् ‘यसरी सबै सहकारीका सञ्चालकहरुलाई थुन्दै जाने हो भने तीन लाख व्यक्ति थुन्नु पर्ने हुन्छ जबकी नेपालको कारागारको क्षमता ४५ हजार मात्र छ । तसर्थ सहकारीको समस्या समाधानको उपयुक्त उपाय निकाल्न राज्यले उचित कदम चालोस् ।’

बागमती प्रदेश सहकारी मन्त्रालयबाट २०८० भदौ २१ गते उक्त सहकारी समस्याग्रस्त घोषित भएको छ ।

संस्थाको ऋणी लालकाजी गुरुङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठ मिली सिभिल सहकारीको ५० प्रतिशत शेयर स्वामित्व रहेको सिभिल मल जसको हालको बजार मूल्य अनुमानित १४ अर्ब जति पर्ने तामाङको भनाइ छ । त्यही सम्पत्ति हडप्ने नियतले सिभिल सहकारीको सम्बन्धमा २०७५ सालमा विभिन्न मिडियामा सहकारीको नकारात्मक र भ्रामक समाचारहरू सम्प्रेषण गरेको उनको दाबी छ ।

सहकारी संस्थाबाट सिभिल होम्स प्रालि लगायत १६ वटा कम्पनीहरूमा ऋण प्रवाह कुन कानून बमोजिम गर्नुभएको हो ? बचत तथा ऋण कारोबार गर्ने तपाईको सहकारी संस्थाको कार्यक्षेत्र घरजग्गा र रियल स्टेटमा काम गर्ने त देखिदैन नी ? के भएको हो ? भन्ने समितिको प्रश्नमा तामाङले उक्त कार्य संस्थाको स्वीकृत विनियमावली बमोजिम गरिएको बताए ।

सहकारी ऐन, २०४८ अमोजिम संस्थाको स्वीकृत विनियमावली बमोजिम घर, जग्गा र रियल स्टेटमा लगानी गरिएको उनको दाबी छ ।

सहकारीले घर जग्गामा कूल ऋणको २५ प्रतिशत मात्र लगानी गर्नु पर्नेमा ९० प्रतिशत भन्दा बढी किन गरियो ? भन्ने प्रश्नमा तामाङले २५ प्रतिशत लगानी भनेको नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार भएको र सहकारी ऐन, विनियममा कर्जा लगानीको सीमा उल्लेख नभएको हुनाले लगानी भएको हुन सक्ने बताए । आफ्नो कार्यकालमा कूल ऋणको करीब २० प्रतिशत मात्र घर जग्गा तथा हाउजिङमा लगानी भएको उनको दाबी छ । तामाङ तीन वर्षयता जेलमा छन् ।


क्लिकमान्डु