ओमप्रकाश गुरुङको बयान: सुप्रिम सहकारीको पैसाले रवि लामिछानेले ग्यालेक्सी टीभीको सेयर किनेका हुन्



काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङले सुप्रिम सहकारीबाट गोरखा मिडियामा जम्मा भएको रकमबाट रवि लामिछानेले ग्यालेक्सी टीभीमा सेयर किनेको बयान दिएका छन् ।

सहकारी ठगीबारे छानबिनका लागि गठित संसदीय समितिसँगको बयानमा हाल कारगारमा रहेका गुरुङले रवि लामिछानेको नाममा ऋण खडा गरि गोरखा मिडिया नेटवर्कको नाममा ग्लोबल आइएमई बैंकमा २ करोड जम्मा गरेको र जीबी राईका साथै कार्यकारी प्रमुख सागर केसीको मिलेमतोमा उक्त कार्य भएको बयान दिएका हुन् ।

उनले रवि लामिछाने सहकारी सञ्चालक नभए पनि जीबी राई, सागर केसी र लामिछानेको सल्लाहमा सहकारीको करिब १२ करोड रुपैयाँ गोरखा मिडिया नेटवर्कमा लगानी भएको बयान समिति समक्ष दिएका छन् ।

‘सुप्रिम सहकारीबाट अन्दाजी १२ करोड रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ । गोरखा मिडियाका अध्यक्ष जीबी राई प्रबन्ध निर्देशक रवि लामिछाने, सुप्रिम बचत तथा ऋण सहकारीका प्रमुख संरक्षक जीबी राई,कार्यकारी प्रमुख सागर केसी भएको हुनाले ती सबै रकम सहकारी मार्फत गएर लगानी भएको हुनाले यी तीनै जना व्यक्तिहरुको सरसल्लाहबाट सहकारीको रकम उक्त संस्थामा लगानी भएको बुझिन आएको हुँदा उक्त व्यहोरा लेखाएको हुँ,’ बयानमा गुरुङले भनेका छन्।


क्लिकमान्डु