अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: चन्द्र ढकाल



काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन् ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे ।

निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने उनको भनाइ छ ।

‘अहिलेको अवस्था भनेको नेपालका हरेक सम्भवना भएका क्षेत्रमा लगानी गर्ने राइट टाइम हो,’ उनले भने, ‘व्यवसायीहरुको नेतृत्व गर्नेहरुले पोजेटिभ माहोल तयार गर्ने हो भने डाउन द लाइन नकारात्मक भाष्य चिर्दै लग्नसके लगानीको वातावरण बन्छ ।’

पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको उनले बताए । अध्यक्ष ढकालले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गरे । उनले व्यवसायीहरुको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गरे ।

‘हामी इमान्दार हिसावले काम गर्ने हो भने काम गर्न सकिने रहेछ । यो मेरो आफ्नै उदाहरणले प्रमाणित गरेको छ,’ ढकालले भने, ‘निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्न खोज्यौँ भने वास्तवमा छोटो समयमा धेरै चिजहरु गर्न सकिन्छ ।’

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वतःफुर्तः काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजस्व वृद्धि हुने दाबी गरे । तीन तहकै सरकारले निजी क्षेत्रलाई इन्करेज गर्ने वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।


क्लिकमान्डु