समस्याग्रस्त सहकारीको संस्थागत, सञ्चालक र संलग्न व्यक्तिको सम्पत्ति तत्काल रोक्का गर्न सुझाव



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति तथा त्यसका सञ्चालक एवं संलग्न व्यक्तिको तत्काल सम्पत्ति रोक्का गर्न सुझाव दिएको छ ।

समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको बचत रकम फिर्ता गर्नका लागि संस्थागत सम्पत्तिबाट बचत फिर्ता गर्न यस्तो सुझाव दिएको हो ।

केन्द्र, प्रदेश तथा स्थानीय तहहरूमा आ–आफ्नो जिम्मेवारीभित्र पर्ने गैरकानूनी कारोबार गर्ने सहकारी संस्थाहरू र त्यससँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति जिम्मा लिने, बेचबिखन गर्ने, ऋण असुली गर्ने, निक्षेप कर्ताहरूको निक्षेप फिर्ता गर्ने लगायतका कार्यहरू गर्न कानूनी र संस्थागत प्रबन्ध गर्न सुझाव दिएको छ ।

गैरकानूनी कारोबार गर्ने सहकारी संस्थाहरू र तिनका सञ्चालक एवं अन्य संलग्न व्यक्तिहरूको सम्पत्तिको लगत तयार गर्न, लगतअनुसार संस्थागत सम्पत्ति संयन्त्रले जिम्मा लिने, संस्थाबाट लगानी भएको ऋणलाई सरकारी बाँकी सरह असुल गर्न सुझाव दिएको छ ।

त्यस्ता संस्थाहरूको अचल सम्पत्तिलाई चलमा परिणत गर्ने (बेचबिखन गर्ने), बचतकर्ताको प्राथमिकता र उपलब्ध सम्पत्तिको आधारमा फिर्ता गर्ने रकमको अनुपात निर्धारण गर्न र निर्धारण भएबमोजिमको प्राथमिकताक्रममा बचत फिर्ता गर्न सुझाव दिएका छ ।


क्लिकमान्डु