१६ वर्ष उडाएर बुध्द एयरको एटीआर जहाजको यसरी गरियो बिदाइ (भिडियो)



काठमाडौं । बुध्द एयरको एटीआर जहाजको बिदाइ गरिएको छ । मंगलबार विमानस्थलमा बुध्द एयरको ९ एन-एआईएनको बिदाइ गरिएको हो । ७० हजार उडान अवतरण साइकल पूरा गरेसँगै विमानको बिदाइ गरिएको हो ।

मंगलबार विमानस्थलमा बुद्ध एयरको विमान पर्वतीय उडान गरेर फर्किएपछि पानीको फोहोरासहित सम्मान गर्दै बिमानको बिदाइ गरिएको हो । अब उप्रान्त यो विमानले उडान अवतरण गर्ने छैन ।

बुध्द एयरको जहाज ९ एन-एआईएनद्वारा ७० हजार उडान अवतरण साइकल पूरा गरेको छ । उक्त विमानले १८ लाख यात्रुलाई उडान सेवा दिएको बुध्द एयरले जनाएको छ ।

जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छ । तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपूर्जा फेर्नै पर्ने हुन्छ ।

विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान पनि भर्न नपाइने बुध्द एयरका टेक्निकल निर्देशक मङेस थापाले बताए। यसपछि जहाजलाई बिदाइ गर्नैपर्ने उनको भनाइ छ ।

बुध्द एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएको थियो । उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो ।

विगत १६ वर्षमा बुध्द एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याइसकेको छ । बुध्द एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका एयरलाइन्सले जनाएको छ ।

मंगलबार नेपाली रजिष्ट्रेशन ९ एन एआईएन तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर एमएसएन४०३ ले व्यवसायिक उडानमार्फत् ७० हजार उडान अतवरण पुरा गरेको बुध्द एयरले जनाएको छ । १६ वर्ष ३ दिने उडानका दौरानमा यसले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।

एटिआरले अहिलेसम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी बिदाई गर्न लागेको संसारमै आज पहिलो पटक भएको बुध्द एयरले जनाएको छ ।

बिदाई कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।

यसैगरि एटीआरका प्रतिनिधि पवन तनवनीले बुध्द एयरको जहाज रेखदेख तथा दक्ष जनशक्तिको उच्च प्रशंसा गरे । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरुको पनि उपस्थिती रहेको थियो ।

बुध्द एयरले दैनिक १५० भन्दा बढी उडानमार्फत दसौं हजार यात्रुलाई सेवा प्रदान गरिरहेको छ । बुध्दले पोखराबाट नेपालगञ्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान भरिरहेको छ ।

बुध्द एयरले धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयरले साताको ३ दिन भारतको वाराणसी उडान भरिरहेको छ ।


क्लिकमान्डु