अनलाइन भुक्तानी गरेकालाई १० प्रतिशत कर फिर्ता गर्नुपर्ने, कसरी पाउँछन् बैंक खातामै कर भुक्तानी



काठमाडौं । अनलाइन भुक्तानी गरेका उपभोक्तालाई १० प्रतिशत कर फिर्ता गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले २१ भदौमा गरेको निर्णय अनुसार उपभोक्ताले अनलाइनबाट मदिरा पिउने केन्द्र (बार)बाट किनेको, रेस्टुरेन्ट तथा सबै प्रकारका होटलबाट लिएको सेवामा तिरेको अनलाइन भुक्तानीमा १० प्रतिशत कर फिर्ता गर्नुपर्ने भएको छ ।

यस्तो कर सम्बन्धित उपभोक्ताको बैंक खाताबाट काटिएको रकम बैंक दातामै फिर्ता गरिदिनुपर्ने सूचना विभागले जारी गरेको छ।

विभागका अनुसार कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्याम (अनलाइन) बाट गर्दा १० प्रतिशत रकम फिर्ता दिनुपर्ने हुन्छ । यसकै लागि उपभोक्ताले सेवा खरिद गरी तिरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले निर्धारण गरेका वस्तु तथा सेवा खरिदको मूल्य विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्न विभागले निर्देशन दिएको हो ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ को उपदफा (१) को खण्ड १ (ख)मा भएको व्यवस्था अनुसार १० प्रतिशत कर फिर्ता गर्नुपर्ने भएको हो ।

यस्तो व्यवस्था अनुसार ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरि निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गर्नुपर्नेछ।

मूल्य अभिवृद्धि कर ऐनअनुसार विभागको भदौ २१ गतेको निर्णय बमोजिम मदिरा पिउने केन्द्र (वार) बाट प्रदान गरिने सेवा, चमेनागृहबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गरेमा करको १० प्रतिशत रकम फिर्ता गर्नुपर्नेछ भएको हो ।


क्लिकमान्डु