गोरखा मिडियामा म भएको बेला अरुले गरेको बदमासीको जिम्मा लिन्नः रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले सहकारीबाट कुनै लाभ नलिएको, त्यसमा आफू कतै पनि सहभागी नभएको दाबी गरेका छन् ।

रास्वपाको सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले सहकारी ठगी प्रकरणमा कही कतै संलग्नता रहेको पाइएमा आफूले कहाँ कसलाई तिर्न जानु पर्ने हो त्यो भनिदिन आग्रह गरे । आफू भएको समयमा अन्य जो कसैले गरेको बदमासीको जिम्मा आफूले नलिने उनको भनाइ छ ।

गोरखा मिडिया लगायतको ठाउँमा आफ्नो नाममा पैसा गएको भन्दै सार्वजनिक भएको भन्दै उनले प्रमाणित गर्न चुनौती दिए।

‘म भएको बेला पैसा आएको भएर जिम्मेवारी लिनुपर्छ भन्नु भएको छ । म भएको बेला पैसा ल्याउने मान्छे को हो ? म भएकै बेलामा कसले ल्यायो । कसरी मिलेमतो थियो भन्ने सबै कुराको प्रतिवेदन प्रहरी प्रतिवेदनमा उल्लेख छ,’ उनले भने, ‘अदालतमा मुद्दा जाँदा प्रतिवादी कायम भएका छन्, बिगो कामय भएको छ । कसले गलत काम गरेर त्यो पैसा सहकारीबाट गोरखा मिडिया लगायतका ठाँउमा गएको भनेर सार्वजनिक भएको हो । त्यसमा रवि दोषी छ की छैन भन्नेमा त्यसमा मैले चुनौतीका साथ भनेको छु, मलाई प्रमाणित गरिदिनुस ।’

सहकारीका लाखौं पीडित बचतकर्तालाई न्याय दिने गरी सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन सक्षम हुने दाबी गरे । प्रतिवेदनले सत्यतथ्य बाहिर ल्याउनेमा आफू निश्चिन्त रहेको बताए । सूर्य थापाको समितिले निकै मेहनतका साथ काम गरेको उनको भनाइ छ । आफूसँग जोडिएका विषयमा समितिमा गएर बयान दिएको उनले बताए ।


क्लिकमान्डु