व्यवसायीलाई अर्थमन्त्रीको सुझाव: कार्यक्रममा बोलाउनेभन्दा काम गर्न दबाब दिनुस्



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काम गर्न दबाब दिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरुलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देश, जनता र कानूनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरुलाई राज्यले साथ र संरक्षण गर्ने बताए ।

अहिलेको संसदबाट बनेको पछिल्लो सरकारले सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको बताए ।

नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने पनि बताए।

नेपालमा गुणस्तरीय उत्पादन गर्नसके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने उनले बताए । अर्थतन्त्रका सबै सूत्रहरुमा यथेष्ठ अध्ययन र विश्लेषण गरी निर्णयमा पुग्ने उनको भनाइ छ ।


क्लिकमान्डु