नबिल बैंकको विद्युतीय ट्याक्सी कर्जा ‘इ-अटो लोन’: कोभिडपछिको आर्थिक संकट टार्दै



काठमाडौं । कोभिड पछिको आर्थिक संकटले असर नपरेको कुनै क्षेत्र छैन । यहि कारण अहिले बैंकहरुको अधिकांश कर्जा बिग्रिएका छन् । एकातिर कर्जा बिग्रिरहेको छ भने अर्कोतर्फ व्यवसायका नयाँ ढोकाहरु पनि खुलिरहेका छन् ।

कोभिड १९ को समयमा सबैभन्दा ठूलो प्रभाव यातायात क्षेत्रमा पर्यो । पटक पटकको लकडाउन र सामाजिक दूरी कायम गर्नु पर्ने बाध्यताले कयौं यातायात व्यवसायीहरु पलायन भए । महँगो डिजेल पेट्रोलका कारण उनीहरुले लागत धान्न सकेनन् । तर पछिल्लो समय नेपालमा ईभी गाडीको प्रयोगमा क्रान्ति छाएको छ ।

सार्वजनिक यातायातदेखि लिएर निजी सवारी साधनहरु पनि विद्युतीय नै खरिद गर्ने ट्रेण्ड बसेको छ । यहि अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले २०८५ सम्ममा २० वर्ष पुराना ट्याक्सीलाई विस्थापित गरेर विद्युतीय ट्याक्सीलाई भित्र्याउने रणनीति बनाएको छ । नेपाल सरकारको यस्तो दीर्घकालीन रणनीतिलाई आत्मसाथ गर्दै नबिल बैंकले विद्युतीय ट्याक्सीमा कम्तिमा २० प्रतिशत डाउन पेमेन्टमा अधिकतम ८० प्रतिशतसम्म कर्जा दिँदै आएको छ ।

नबिल बैंकले आधिकारिक बिक्रेतासँगको समन्वयमा ३७ लाख पर्ने विद्युतीय ट्याक्सीमा २९ लाख ५० हजारसम्मको कर्जा दिँदै आएको छ । यस्तो कर्जा लिन कम्तिमा पनि एक वर्ष ट्याक्सी चलाएको अनुभव हुनु पर्नेछ ।

मूल्यका हिसाबले पेट्रोलबाट चल्ने ट्याक्सीको भन्दा महँगो भए पनि यो धेरै इकनोमिक छ । जसले गर्दा विद्युतीय ट्याक्सीबाट हजारौं चालकहरु लाभान्वित भइरहेका छन् । बैंकले हालसम्म ५०० जनाभन्दा बढीलाई यस्तो कर्जा उपलब्ध गराइसकेको छ । बैंकबाट विद्युतीय ट्याक्सी खरिदका लागि कर्जा लिने कुनै पनि ऋणीहरु दुखि छैनन् । अन्य क्षेत्रका ऋणीलाई साँवा व्याज भुक्तानी गर्न धौधौ परिरहेको सन्दर्भमा विद्युतीय ट्याक्सी चालकहरुले समयमै किस्ता भुक्तानी गरिरहेका छन् ।

विद्युतीय ट्याक्सीका लागि नबिल बैंकबाट कर्जा लिएका दोलखाका कविराज श्रेष्ठ एक प्रतिनिधि पात्र हुन् । जसले कोभिड १९ र त्यस पछिको आर्थिक मन्दीबाट ठूलो आर्थिक संकटको सामना गर्नु पर्यो । पेशाले ट्याक्सी चालक श्रेष्ठले पेट्रोलबाट चल्ने ट्याक्सी बिक्री गरिदिए । उनलाई पेट्रोलबाट चल्ने ट्याक्सी चलाउनै मन लागेन ।

यतिकैमा टाटा कम्पनीले विद्युतीय ट्याक्सी बजारमा ल्यायो । उनको ध्यान विद्युतीय ट्याक्सीतर्फ मोडियो । तर हातमा पैसा थिएन । बैंकहरुमा कर्जाका लागि कुरा गरे । नेपालमा विद्युतीय ट्याक्सी भर्खर भर्खर आएकाले बैंकहरु कसरी फाइनान्सिङ गर्ने भनेर अलमलमा थिए । नेपालको बैंकिङ क्षेत्रमा एक कदम अगाडि नबिल बैंकले विद्युतीय ट्याक्सीमा २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गर्ने प्रोडक्ट डिजाइन गर्‍यो ।

श्रेष्ठलाई ढुङ्गा खोज्दा देउता मिलेझै भयो । नबिल बैंकमा तत्काल सम्पर्क गरे । कर्जाको विषयमा सबै कुरा बुझे । उनले २० प्रतिशत डाउन पेमेन्ट गरेर २९ लाख ५० हजार कर्जा लिए ।विद्युतीय ट्याक्सीको कुल लागतको २० प्रतिशत अर्थात ७ लाख ५० हजार डाउन पेमेन्ट साथै नम्बर प्लेट र पास खर्च बापत थप ६ लाख सहित साढे १३ लाख आफैंले जुटाए । पहिला नै ट्याक्सी बिक्री गरेर बसेका श्रेष्ठलाई साढे १३ लाख जोहो गर्न कुनै समस्या परेन ।

उन‍ी आफूले मात्रै ट्याक्सी किनेन् आफ्ना साथी भाइहरुलाई पनि पुरानो ट्याक्सी बिक्री गराएर विद्युतीय ट्याक्सी खरिदका लागि सहजीकरण पनि गरिदिने गरेका छन् । २० वर्षभन्दा पुरानो ट्याक्सीलाई नष्ट गरेर सोही नम्बर प्लेटबाट विद्युतीय ट्याक्सी खरिद तथा बैंकिङमा उनले गरेको सहयोगबाट अहिले धेरै ट्याक्सी लाभान्वित भएका छन् ।

काठमाडौं उपत्यकामा दैनिक १०० किलोमिटर गुडाउँदा कम्तिमा पनि ५ हजार आम्दानी हुने उनी बताउछन् । उनी भन्छन् ‘हामी बिहान ट्याक्सी लिएर बाहिर निष्किएपछि कम्तिमा पनि ५ हजार कमाउनु पर्छ भन्ने लक्ष्य राख्छौं । यसले गर्दा कहिलेकाहीँ ७ हजारसम्म पनि आम्दानी गर्न सक्छौं । तर आम्दानी ठ्याक्कै यति नै हुन्छ भन्ने हुँदैन ।’

अहिले पठाओ तथा इन्ड्राइभबाट ट्याक्सी चलाउदाप्रति किलोमिटर ७०/८० रुपैयाँ आम्दानी हुन्छ । यसरी हुने आम्दानी लगभग शतप्रतिशत बच्ने श्रेष्ठ बताउँछन् । एक पटक फुल चार्ज गर्दा करिब एक सयदेखि १८० रुपैयाँसम्म खर्च हुन्छ । यसरी दिनमा २०० रुपैयाँभन्दा कम खर्चमा ५/७ हजार कमाइ हुने उनको अनुभव छ । यहि हिसावले विद्युतीय ट्याक्सी चालकले मासिक कम्तिमा एक लाखदेखि एक लाख ६०/७० हजार रुपैयाँसम्मको आम्दानी गर्छन् ।

नयाँ गाडी भएको हुँदा तीन वर्षसम्म कम्पनीले सर्भिस चार्ज लिँदैन । गाडीमा केहि सामान फेर्नु पर्यो भने केहि खर्च लाग्छ अन्यथा अरु केहि पनि खर्च हुँदैन । कम्पनीले ५ वर्षसम्म गाडी र व्याट्रीको वारेन्टी दिएको हुँदा अवको ५ वर्षसम्म अन्य ठूलो खर्च हुने सम्भावना धेरै कम रहेकाले उनी एकदमै खुसी छन् ।

यस्तै पेट्रोल गाडी चलाउदा प्रतिलिटर १२ देखि १५ लिटर पेट्रोल लाग्छ । नयाँमा प्रतिलिटर १५ किलोमिटर गुड्छ भने पुरानो हुँदै जादा प्रति लिटर १२ किलोमिटर गुड्न पनि धौधौ पर्छ । यहि हिसावले दैनिक सय किलोमिटर गुड्यो भने कम्तिमा पनि १२ सय रुपैयाँदेखि १५ सय रुपैयाँ खर्च हुन्छ । एक महिनाको हिसाब गर्ने हो भने पेट्रोल मात्रै ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्म पर्छ । यस बाहेक मोबिल फर्ने, सर्भिस गर्ने र पार्टहरुमा हुने खर्च पनि त्यत्तिकै हुन्छ । यस्तो खर्च औषतमा ४/५ हजार हुने श्रेष्ठ बताउँछन् । पेट्रोल ट्याक्सी चलाउँदा ५० हजारभन्दा माथि खर्च हुन्छ ।

जवकी विद्युतीय गाडी चालकले लगभग मासिक ५२ हजार रुपैयाँ किस्ता तिर्नु पर्छ । अहिलेको अवस्थामा किस्ता तिरेर पनि मासिक एक लाख भन्दा धेरै आम्दानी हुने ट्याक्सी चालक श्रेष्ठ बताउँछन् ।

विद्युतीय ट्याक्सीमा ३ वर्षसम्म कुनै पनि खर्च नआउने भएकाले यस अवधिमा दिनरात काम गर्दा ट्याक्सी चालकले औषतमा पनि ५० लाखभन्दा धेरै आम्दानी गर्ने देखिन्छ । यस अवधिमा ट्याक्सी चालकले आफ्नो सम्पूर्ण लागत उठाएर ट्याक्सी आफ्नो बनाइसक्ने छन् । त्यसपछि आउने खर्चले खासै नोक्सान नहुने श्रेष्ठको विश्लेषण छ । उनी भन्छन्,‘पेट्रोलको पैसा तिर्ने पैसाले बैंकको किस्ता तिर्न पुगिरहेको छ ।’

पेट्रोल ट्याक्सी खरिद गर्दा २० देखि २२ लाख खर्च हुन्थ्यो । तर अहिले सरकारले पेट्रोल ट्याक्सीलाई प्रतिबन्ध लगाइसकेको हुँदा अब नयाँ ट्याक्सी खरिद गर्दा विद्युतीय ट्याक्सी नै खरिद गर्नु पर्ने निमय छ । सरकारले २०८५ सालसम्ममा २० वर्ष पुराना सबै पेट्रोल ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा कन्भर्ट गरिसक्ने नीति लिएको छ।

बैंकले पहिलो पटक यस्तो कर्जाको अवधि ७ वर्ष राखेकोमा अहिले ६ वर्षको किस्तामा झारेको छ । श्रेष्ठले ७ वर्षसम्ममा कर्जा चुक्ता हुने गरि मासिक रुपमा साँवा व्याजसहित ५२ हजार रुपैयाँ बुझाउँछन् । उनले अहिलेसम्म कुनै पनि महिनामा किस्ता तिर्न नसकेको अवस्था छैन । हरेक अंग्रेजी महिनाको २० तारिख भित्रमा किस्ता बुझाइसक्छन् ।

बैंकले कर्जा प्रवाह गर्दा चालकको ऋणी खाता खोलिदिएको हुन्छ । चालकले हरेक महिना यहि खातामा पैसा जम्मा गरिदिए पछि स्वचालित रुपमा उक्त रकम काटिन्छ । श्रेष्ठले दैनिक रुपमा हुने आम्दानीलाई बचत खातामा जम्मा गर्छन् र यहि रकमलाई मोबाइल बैंकिङ मार्फत ऋण खातामा ट्रान्सफर गरिदिन्छन् । यसले गर्दा उनलाई कर्जा भुक्तानीका लागि बैंकसम्म पुग्नै पर्दैन ।

नबिल बैंकको यस्तो कर्जाले आफ्नो जीवनमा आमूल परिवर्तन ल्याएको उनले बताए । ‘नबिल बैंकले हामी जस्ता ट्याक्सी चालकलाई आफैले कर्जा लिएर आफ्नै ट्याक्सी चलाउने अवसर प्रदान गरेको छ । मैले ट्याक्सीबाटै आम्दानी गरेर घरको समेत किस्ता तिरिरहेको छु,’ उनले भने ।

काठमाडौंमा विगत १८ वर्षदेखि ट्याक्सी चलाउदैँ आएका टेक बहादुर थापा मगरले धेरै वर्ष पेट्रोल ट्याक्सी चलाए । उनको जीवनमा २०८० साल जेठ ११ गते ठूलो बज्रपात पर्यो । हिँड्दा हिँड्दै गाडीले हानेर देब्रे खुट्टा गुमाउनु पर्यो ।

ट्याक्सी चलाएरै जीवन चलाउनु पर्ने अवस्थाका थापाले जीवनमा अध्यारो मात्रै देखे । किनकी अब उनले सदाका लागि ड्राइभर पेशा छाड्नु पर्ने भयो । दुर्घटनापछि काटिएको खुट्टामा खाटा पर्न ७ महिना लाग्यो । बैशाखी टेकेर हिँड्न त सकियो तर काम के गर्ने ? उनी उपाय खोजिरहेका थिए ।

उनले भर्खरै बजारमा आएका विद्युतीय ट्याक्सीका बारेमा बुझ्न थाले । विद्युतीय ट्याक्सी एउटा खुट्टा भए पनि सजिलै चलाउन सकिन्छ भन्ने कुरा थाहा पाए । त्यस पछि उनको हर्षको सीमा रहेन । विद्युतीय गाडीमा पेट्रोल गाडीको जस्तो खुट्टामा गियर, क्लज र ब्रेक छैन ।

छोरालाई विद्युतीय ट्याक्सीको कर्जा सम्बन्धी बुझ्न लगाए । उनी आफै बैंकको पुलचोकस्थित शाखा कार्यालयमा गएर बुझे ।
आफ्नै ट्याक्सी चलाएको वर्षौ अनुभव भएका थापा मगरले बैंकलाई विश्वास दिलाए । बैंक सँगको निरन्तरको छलफल पछि बैंकले उनको नामबाट भन्दा पनि छोराको नामबाट कर्जा झिक्न सुझाव दियो । त्यसपछि उनले पुरानो ट्याक्सी बेचिदिए । डाउन पेमेन्टका लागि नपुग अलि अलि रकम आफ्नो बचतबाट मिलाए ।

गाडी बिक्रेताले उनलाई विशेष सम्मानसहित ट्याक्सी ह्याण्डओभर गर्यो । उनी एउटा खुट्टा नभएकाहरु पनि ट्याक्सी चलाएर स्वरोजगार बन्न सक्छन् भनेर उदाहरणीय पात्र बनेका छन् । उनी बिहान खाना खाएर साँझसम्म ट्याक्सी चलाउँछन् । बेलुका उनका छोराले चलाउँछन् ।

उनले ट्याक्सी चलाएको देखेर कयौं यात्रुहरु अचम्मित हुन्छन् । कतिपय यात्रुहरु उनलाई देखेर धेरै खुसी हुन्छन् । यात्रुहरुसँगको व्यवहारलाई सम्झिदै उनी भन्छन्, ‘यस्तो अवस्थाका अन्य व्यक्तिहरु मागेर हिँडिरहदा तपाईंले यसरी आफैंले ट्याक्सी चलाएर काम गरिरहनु भएको छ भन्दै मागेको भन्दा धेरै रकम दिएर जानुहुन्छ ।’

यदि नबिल बैंकले विद्युतीय ट्याक्सी खरिदका लागि कर्जा नदिएको भए आफ्नो जीवन नै अन्धकार हुने उनी बताउँछन् । विद्युतीय ट्याक्सी चलाएदेखि उनको आम्दानीमा धेरै नै सुधार हुन थालेको छ । उनी दिनभरी ट्याक्सी चलाएर कम्तिमा पनि २५ सयदेखि ३ हजार रुपैयाँ कमाउँछन् । छोरा उज्ज्वलले बेलुका मासिक ३० हजारको एउटा टिप पाएका छन् । यस बाहेक पनि उनी रातभर ट्याक्सी चलाएर दैनिक २ हजारभन्दा धेरै कमाउँछन् । यसरी बाबु छोरा मिलेर मासिक एक लाख ३० हजारदेखि एक ५० हजार रुपैयाँसम्म कमाउँछन् ।

पेट्रोल गाडी चलाउँदा उनी दैनिक ७०/८० किलोमिटर जति गुडाउँथे । जसमा पेट्रोल खर्च ७/८ सय जति खर्च गरेर २५ सय तीन हजार आम्दानी हुथ्यो । अहिले पेट्रोलको ७/८ सय रुपैयाँ बचेको छ । यो रकमले उनलाई बैंकको किस्ता तिर्न पुगेको छ ।

उनले कर्जा लिएको पहिलो महिनामा व्याज मात्रै तिरे । त्यस पछिको महिनामा किस्ता तिरे । अब दोस्रो किस्ता तिर्ने तयारीमा छन् । उनले बैंकलाई मासिक ५३ हजार ८२ रुपैयाँ किस्ता तिर्नुपर्छ । यहि हिसाबले कमाइ हुँदै गयो भने उनी कर्जाको अवधिभन्दा छिट्टै चुक्ता गर्ने सोचमा छन् । ‘मैले यसभन्दा अगाडी पनि ट्याक्सी किन्दा लिएको कर्जा तोकिएको समय सीमाभन्दा धेरै अगाडी चुक्ता गरेको थिए । यस पटक पनि यहि हिसाबले कमाइ हुँदै गएमा अझ छिट्टै तिरिसक्छु’ उनले भने ।

विद्युतीय ट्याक्सीमा तीन वर्षसम्मको ग्यारेन्टी रहने भएकाले यस अवधिसम्म कम्पनीले नै सर्भिस गरिदिन्छ । यसले गर्दा तीन वर्षसम्म ट्याक्सीको लागत उठाइसक्ने उनको योजना छ । यसरी तीन वर्षमा ट्याक्सीलाई पूर्णरुपमा आफ्नो बनाएर त्यस पछिको आम्दानीले केहि गर्न सकिनेमा उनी विश्वस्त छन् । आफूलाई यो अवस्थामा ल्याउन नबिल बैंकले पुर्‍याएको योगदानप्रति उनी कृतज्ञ छन् । उनी भन्छन्, ‘मलाई नबिल बैंकले विश्वास गरेर दिएको कर्जाबाट मेरो जीवन नै फरिएको छ । अब म केहि पनि गर्न सक्दिन भन्ने अवस्थाको मान्छेलाई बैंकले गरेको सहयोगले ठूलो राहत मिलेको छ ।’

निजी क्षेत्रबाटै पहिलो पटक आजभन्दा ४ दशक अगाडि स्थापना भएको नबिल बैंककले नेपालको बैंकिङ प्रणलीमा सधै नविनतम काम गर्दै आइरहेको छ । नेपालको भूगोल, धार्मिक सांस्कृतिक तथा सामाजिक विविधितादेखि लिएर सबै उमेर समूहमा नबिल बैंकले आफ्नो छुट्टै चिनारी बोकेको छ ।

पछिल्लो समय नेपालमा विद्युतीय साधनले क्रान्ति ल्याएको छ । यहि मुलुकको आवश्यकतालाई नियाल्दै बैंकले विद्युतीय सवारीसाधनमा आकर्षक सेवा सुविधासहित कर्जा प्रवाह गर्दै आइरहेको नबिल बैंककी रिटेल ल्याण्डिङ युनिट प्रमुख चादनी श्रेष्ठले बताइन् । नबिल बैंकले काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको लागि छुट्टा छुट्टै मापदण्ड बनाएको छ उनले जानकारी दिइन् । उनले भनिन् ‘जसअनुसार बैंकले ऋणीको क्रेडिट स्कोरिङ गरेर कतिसम्म कर्जा दिन सकिन्छ भनेर निर्धारण गर्दछ ।’

बैंकले उपत्यका भित्रको हकमा ८० प्रतिशतसम्मको फाइनान्सिङ गरेता पनि उपत्यका बाहिर चल्ने सार्वजनिक सवारी साधनको हकमा भने ६० प्रतिशतसम्म कर्जा प्रवाह भइरहेको श्रेष्ठले जानकारी दिइन् ।

उनले थपिन् ‘यसमा पनि ऋणीको अनुभव, कर्जा भुक्तानी गर्न सक्ने क्षमता, व्यक्तिगत खर्च तथा पारिवारिक दायित्व लगायतका कुराहरुलाई हामी मूल्याङ्कन गर्छौ ।’ उनको अनुभवमा अहिलेसम्म प्रायः ऋणीले ६० देखि ७० प्रतिशतसम्मको कर्जा पाइरहेका छन् । ऋणीले ६ वर्षको अवधिमा ऋण चुक्ता गर्न सक्ने गरि आधार व्याजदरमा ३ प्रतिशत प्रिमियम जोडर व्याजदर तय गरे पश्चात किस्ता रकम निर्धारण हुने उनले जानकारी दिइन् । आधार व्याजदरमा तलमाथि हुने भएकाले किस्ताको रकममा पनि तलमाथि हुन जान्छ । यसरी निर्धारण हुने किस्ताको दोब्बर बराबरको आम्दानी गर्छु भनेर बैंकलाई प्रतिवद्धता जनाउनु पर्छ ।

यसका लागि नबिल बैंकको नेपाल अधिराज्य भर रहेका जुनसुकै शाखा कार्यालयमा गएर बुझ्न तथा कर्जाको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।


क्लिकमान्डु