तनहुँ बस दुर्घटना: मृतकको शव भारतीय वायुसेनाको विमानबाट लगिँदै



काठमाडौं । तनहुँको आँबुखैरेनीनजिकै शुक्रवार बिहान भएको बस दुर्घटना ज्यान गुमाएका २७ जना भारतीय नागरिकहरूको शव चितवनबाट भारततर्फ लगिँदै छ।

उक्त दुर्घटनामा परेर २७ जनाको मृत्यु र १६ जना घाइते भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका २७ जनाको शव पोस्टमोर्टमका लागि चितवनस्थित भरतपुर अस्पताल पुर्‍याइएको थियो।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएको थियो।

भारतको युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

मृतकहरूको शव परीक्षण भइरहेको चितवन पनि उनी शनिवार अपराह्न पुगेकी थिइन्

दुर्घटनामा निधन भएकाहरूको शव पोस्टमोर्टमपछि चितवनबाटै भारततर्फ लैजान लागिएको अधिकारीहरूले बताएका छन्।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेलका अनुसार अस्पतलामा शवहरू बुझ्न काठमाण्डूस्थित भारतीय दूतावासका प्रतिनिधिहरू आएका थिए।

त्यसपछि ती शवहरूलाई चितवन विमानस्थलमा पुर्‍याइएको थियो। शवहरू लिनका लागि भारतीय वायु सेनाको विमान चितवनमा आइसकेको छ।

सोही विमानमा राखेर शवहरू पठाउन लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

यादवले अधिकांश मृतक महाराष्ट्रका रहेकाले उक्त विमान महाराष्ट्रको नासिक सहरमा अवतरण गर्ने जानकारी आफूले पाएको बताए।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले उक्त दुर्घटनाबारे भनेका छन्, “हिजो जुन दुखद घटना भयो, त्यसको बारेमा मैले रक्षा मन्त्रालयसँग कुरा गरेको छु। स्वयं गृहमन्त्रीले मानिसलाई मद्दत गर्नका लागि एक जना नोडल अफिसर नियुक्त गर्नुभएको छ।”

अधिकारीहरूले दिएको जानकारी अनुसार २७ मध्ये २५ वटा शवहरू उक्त विमानबाट पठाइने छ भने बसका चालक र सहचालकको शव भने गाडीबाट भारतको गोरखपुरतिर पठाइने छ।

उनीहरू गोरखपुर निवासी भएकाले गाडीबाट त्यता पठाइन लागेको हो।


क्लिकमान्डु