चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई संसदीय समितिको निर्देशनन



काठमाडौं । संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजारको अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुनेगरी बजार अनुगमनको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

चिनी, चामल, तेललगायतका खाद्य वस्तुहरुको कालोबजारी, अस्वभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभासपति अब्दुल खानले जानकारी दिए । त्यसैगरी बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा बिस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सभापति खानले चिनीलगायतका कुनैपनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको बताए ।

बैठकमा सांसदहरुले खाद्यबस्तुको अखाद्य वस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए ।


क्लिकमान्डु