नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशनबीच भगिनी सम्बन्ध स्थापना



विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र भारतको बिहार इण्डष्ट्रिज एशोसिएशन पटनाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष केपी एस केसरीबीच मंगलवार पटनामा भएको कार्यक्रमका क्रममा यो सम्बन्ध जोडिएका हुन् ।

निजी क्षेत्रको ठूलो सञ्जाल भएको महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील रहेको छ । महासंघ कोशीले यस प्रदेशमा उद्योग व्यवसाय मैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी गर्दै पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणकालागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बिहार इण्डष्ट्रिज एशोसिएशन पटना र महासंघ कोशीबीच जोडिएको भगिनी सम्बन्धले दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवद्र्धन हुने दुबै संस्थाका पदाधिकारीको विश्वास छ ।

यसबाट व्यावसायिक सम्बन्ध सहकार्य बढेर जाने र व्यवसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार तय भई नेपालको कोशी प्रदेश र बिहार राज्यको व्यापार क्षेत्रमा लाभ पुग्ने विश्वास गरिएको छ ।

भदौ २७ देखि ३० गतेसम्म हुने कृषि एस्क्पोका लागि उक्त एशोसिएशनबाट सहभागिता रहनुका साथै कृषिका प्रविधि, कृषि उपज वस्तु तथा कृषि विज्ञको समेत सहभागिता रहने बिहार इण्डष्ट्रिज एशोसिएशनका अध्यक्ष स. केसरले प्रतिवद्धता जनाएका छन । कार्यक्रममा महासंघका अध्यक्ष राउत सहित कोषाध्यक्ष सुवाष आचार्य, केन्द्रिय सदस्य अविनाश बोहरा लगायतको सहभागिता थियो ।


क्लिकमान्डु