शेख हसिनालाई अमेरिकाको जवाफ- ‘बंगलादेशको सत्ता उल्ट्याएको आरोप सरासर झुट’



एजेन्सी । बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई अमेरिकाले सत्ताच्युत गरेको आरोप लगाएको विषयमा अमेरिकाले ध्यानाकर्षण गर्दै त्यसमा आफ्नो भूमिका नरहेको स्पष्ट पारेको छ । अमेरिकाले हसिनाको उक्त अभिव्यक्तिलाई केवल अफवाह भएको टिप्पणी गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरले यसबारे सम्बोधन गर्दै हसिनाको आरोपको खण्डन गरेकी हुन् । ‘यसमा हाम्रो कुनै पनि संलग्नता छैन । यस्तो कुनै पनि रिपोर्ट झुटो हो । जसमा बंगलादेशको सत्तापलटमा अमेरिकी सरकारको हात रहेको भनिएको छ । सबै झुट हो ।’ पियरले भनेकी छन् ।

यो विकल्प स्यवं बंगलादेशका नागरिकहरुले आफ्नै लागि लिएको पनि ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ । पियरले भनेकी छन्, ‘हामीलाई लागेको छ बंगलादेशका मानिसहरुले त्यहाँको सरकारको भविष्य निर्धारण गर्नु आवश्यक छ ।’ साथै उनले कुनै पनि आरोप सत्य नभएको बताएकी छन् ।

बंगलादेशमा विद्यार्थीहरुको एक महिना लामो विद्रोहपछि शेख हसिना देश नै छाडेर भाग्न बाध्य भएकी थिइन् । उनी अगस्ट ५ मा राजीनामा दिँदै भारतमा शरण लिन पुगेकी थिइन् ।

भारतबाट बेलायत जाने तयारी गरे पनि उनी जान सकेकी छैनन् । बरु हसिनाले एक अभिव्यक्ति दिँदै आफू छिट्टै बंगलादेश फर्किने बताएकी छन् । साथै उनले केही दिनअघि आफूलाई अमेरिकाले सत्ताच्युत गरेको आरोप लगाएकी थिइन् । तर आफूले सम्झौता अस्विकार गरेर बरु देश छाड्न तयार भएको बताएकी थिइन् ।

हसिनाले देश छाडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेतासमेत रहेका अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले भने पछिल्लो समय राक्षस गइसकेको भन्दै हसिना सरकारप्रति कटाक्ष गरेका थिए ।


क्लिकमान्डु