आफ्नै सफ्टवेयरमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै टेलिकम


काठमाडौं । नेपाल टेलिकमले आफ्नै सफ्टवेयरमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थालेको छ । टेलिकमले आफूलाई आधुनिक, डिजिटल तथा ग्राहक केन्द्रित सेवा प्रदायक संस्थाको रूपमा रूपान्तरण गर्न आन्तरिक रूपमै विकास गरिएका ‘इन-हाउस’ सफ्टवेयर प्रणालीहरूको प्रयोगमार्फत प्रभावकारी सेवा दिन थालेको दाबी गरेको छ ।

संस्थागत सुधार र डिजिटल रूपान्तरणको उद्देश्य प्राप्तिका लागि सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्नै जनशक्ति र प्राविधिक दक्षताको उपयोग गरी विभिन्न स्वचालित प्रणालीहरू कार्यान्वयनमा ल्याएको जानकारी समेत दिएको छ ।

आन्तरिक कार्यप्रणालीलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन विकास गरिएका यी प्रणालीहरूले कार्यसम्पादनमा दक्षता ल्याउनुका साथै सुशासन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने पनि टेलिकमको भनाइ छ ।

टेलिकमले बनाएका आन्तरिक सफ्टवेरयमा खरिद प्रक्रियालाई पारदर्शी बनाउन प्रोक्युरमेन्ट म्यानेजमेन्ट सिस्टम (पीएमएस) कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ ।

टेलिकमले आफ्नो केन्द्रीय कार्यालयदेखि क्षेत्रीय निर्देशनालय र मातहतका कार्यालयसम्मको सम्पूर्ण खरिद प्रक्रियालाई डिजिटल बनाउन पीएमएस कार्यान्वयनमा ल्याएको जानकारी पनि दिएको छ । यसले सार्वजनिक खरिदका विभिन्न चरण, सम्झौता र त्यसपछिको अनुगमनलाई परिष्कृत बनाएको छ भने यो प्रणालीले प्रक्रियागत ढिलाइ न्यूनीकरण गरी खरिद प्रक्रियामा एकरूपता र पारदर्शीता सुनिश्चित कायम गर्ने दाबी पनि टेलकमको छ ।

टेलिकमले आफ्ना सेवाहरूको प्रभावकारी सञ्चालन र मर्मत सम्भारका लागि ‘ड्युटी चार्ट म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याइएको छ । यसबाट देशभरका कार्यालयहरूको सिफ्ट ड्युटी र जनशक्तिको विवरण सजिलै प्राप्त गर्न सकिन्छ ।

बैठकहरूलाई व्यवस्थित गर्न ‘मिटिङ म्यानेजमेन्ट सिस्टम’ प्रयोगमा ल्याएको जानकारी पनि दिएको छ । यो सिस्टमले एजेन्डा निर्धारण, माइन्युटिङ, एसएमएस र इमेलमार्फत रिमाइन्डर पठाउने कामलाई स्वचालित बनाएको उल्लेख छ ।

नेपाल टेलिकमले फाइबर टु दि होम (एफटीटीएच) नेटवर्कको कन्फिगरेशन, ग्राहकको माग संकलन र गुनासो व्यवस्थापनका लागि आफ्नै आन्तरिक सफ्टवेयरहरू प्रयोग गरिरहेको छ ।
नेटवर्क अनुगमनका लागि क्याक्टी, नागिओस र स्मोकिपिङ जस्ता खुला स्रोत जस्ता प्रविधिको समेत प्रभावकारी उपयोग भइरहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले आईनकमार्फत चौबीसै घण्टा नेटवर्क अनुगमन गरिरहेको छ भने साइट म्यानेजमेन्ट पोर्टल मार्फत टावर र नेटवर्कको अवस्थाबारे जानकारी लिने गरिएको छ । ग्राहकहरूले एसईईको नतिजा हेर्ने, अनलाइन रिचार्ज गर्ने र पिन बिग्रेको रिचार्ज कार्ड व्यवस्थापन गर्ने जस्ता सुविधाहरू पनि इन-हाउस टुलमार्फत नै दिइरहेको छ ।

टेलिकमले आगामी दिनमा कागजरहित कार्यालय र एकीकृत प्रणाली सञ्चालन गर्ने पनि जानकारी दिएको छ । टेलिकमले सेवा प्रवाहलाई थप छरितो बनाउन युनिफाइड टिकेटिङ सिस्टम विकास गरिरहेको छ । जसले उपकरणका समस्या र ग्राहकका गुनासोहरूलाई एउटै संयन्त्रबाट समाधान गर्नेछ । यसले कार्यालयको कामलाई पूर्ण रूपमा डिजिटल र कागजरहित बनाउन वर्कफ्लो म्यानेजमेन्ट सिस्टमको विकास कार्य अगाडि बढाइएको छ ।