
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनको परिणामबाट केही कमजोर देखिए पनि समाप्त नभएको बताएका छन् ।
मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आइतवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले एमालेको एकता र सुदृढीकरणमा जोड दिएका हुन् । अध्यक्ष ओलीले निर्वाचनमा प्राप्त परिणामलाई एक ‘धक्का’ का रूपमा चित्रण गर्दै पार्टी पुनः सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । आफूहरु धक्काबाट उठेर प्रतिक्रियावादीहरुलाई पराजित गर्ने उनको दाबी छ । विध्वंशको बाटोबाट नभइ रचनात्मक, शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ आफूहरु अघि बढ्ने उनको भनाइ छ ।
‘हामी विध्वंशको बाटोबाट होइन, रचनात्मक बाटोबाट, शान्तिपूर्ण बाटोबाट हामी अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्छौं, पश्चगामी, प्रतिगामी षडयन्त्रहरूलाई पराजित गर्दै धक्कालाई पराजित गर्दै फेरि धुलो टकटक्याउँदै उठ्छौं। हाम्रो विजय अवश्यम्भावी छ,’ उनले भने।
ओलीले लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली कांग्रेस फुटाइएको दाबी गरे ।
लोकतान्त्रिक शक्तिहरु मिल्न नदिन र प्रतिक्रान्तीको बाटोमा मुलुकलाई अघि बढाउने उद्देश्यप्रेरित समूहहरुले नेकपा (एमाले)माथि समेत हाल्ने प्रयास भइरहेको उनको टिप्पणी छ ।
एमाले जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान बोकेको पार्टी भएको भन्दै आफ्ना नीति र सिद्धान्तमा सजग र सचेत भएको उनको भनाइ छ ।
‘लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनका लागि कसरी फुट्यो, कसले फुटायो, किन फुटायो, फुटेर के भो, नेपाली काँग्रेस त फुट्यो । अरुलाई पनि फुटाउने कोसिस हुन सक्छ । पहिले पहिले पनि फुटाउने कोसिस भएको छ,’ उनले भने, ‘पार्टीहरु फुटेका छन् । मुस्किलले एकता गर्यो, फुट्ने बेलामा चम्किँदै फुट्छ । मुस्किलले एकता गर्यो सजिलोसँग फुट्छ, त्यो हामीले देखेका छौँ ।’
उgले पार्टीभित्र कसैले हात हाल्न खोजे पराजित गर्ने क्षमता समेत पार्टीमा रहेको बताए ।






प्रतिक्रिया