देश छाडेर भागेकी शेख हसिनाले भनिन्: मलाई अमेरिकाले हटायो, छिट्टै फर्किन्छु



देशबाट भागेर भारत पुगेकी शेख हसिनाले भनिन्- ‘आशा नगुमाउनू, म छिट्टै फर्किन्छु । यदि म देशमै रहेको भए झन धेरैको मृत्यु हुनेवाला थियो । थप हत्या रोक्न मैले आफैँ छाडें । मलाई विदेशी शक्तिले हटाए ।’

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हिनाले आफूलाई हटाउने देशव्यापी प्रदर्शनमा विदेशी शक्तिको भूमिका रहेको आरोप लगाएकी छन् । देश छाडेर भागेपछि पहिलो पटक हसिनाको प्रतिक्रिया सार्वजनिक भएको हो ।

भारतमा रहेकी हसिनाले त्यहीँबाट यसबारे प्रतिक्रिया दिएकी हुन् । भारतीय मिडियाका अनुसार उनले देशमा थप दुर्घटना हुन नदिन आफैं देश छाडेको बताएकी छन् । र यसका लागि अमेरिकाको हात रहेको आरोप लगाएकी छन् ।

हसिनाले भनेकी छन्, ‘मैले देशमा थप मानिसहरुको मृत्यु हुन दिइनँ । त्यहाँ बसेको भए झन धेरै मानिसक मृत्यु हुन्थ्यो । उनीहरु विद्यार्थीहरुको शवको बलमा सत्तामा आउन चाहन्थे । तर मैले दिइनँ । यदि मैले उनीहरुसँग सार्वभौमसत्ताका लागि सम्झौता गरेको भए शक्तिमै रहन सक्थेँ ।’ हशिनाले बंगादेशका नागरिकहरुलाई परिचालित नहुन पनि आग्रह गरेकी छन् ।

आफू देशमा बसिरहेको भए झन धेरै मृत्यु हुनसक्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएकी बताएकी छन् । ‘तपाइँहरु मेरो शक्ति हुनुहुन्थ्यो । तर तपाइँहरुले मलाई चाहनुभएन । त्यसैले मैले छडें,’ हसिनाले भनेकी छन् । आफूले देश छड्नका लागि कठोर निर्णय लिएको पनि बताएकी छन् ।

नागरिकहरुलाई आशा मर्न नदिन आग्रह गर्दै आफू छिट्टै स्वदेश फर्कने पनि बताएकी छन् । ‘आशा नहार्नुहोस्, म छिट्टै फर्कनेछु। मैले हारेँ तर बंगलादेशका जनताले जितेका छन्, जसका लागि मेरो बुबा, मेरो परिवारको मृत्यु भयो,’ उनले भनेकी छन् ।

उनले बंगलादेशका प्रदर्शनकारीहरुलाई रजाकारको आरोप लगाएको विषयमा पनि स्पष्टीकरण दिएकी छन् । हसिनाले छिट्टै फर्किने भने पनि यसअघि उनका छोराले भने अब हसिना राजनीतिमा नफर्किने प्रतिक्रिया दिएका थिए । तर आइतबार भने उनले आमा(शेख हसिना) स्वदेश फर्कने बताएका छन् ।

पछिल्लो समय बंगलादेश र अमेरिकाको सम्बन्ध बिग्रिएको बताइन्छ । गत जनवरीमा हसिनाको अवामी पार्टी फेरि सत्तामा आउँदा उक्त निर्वाचन निष्पक्ष नभएको अमेरिकाको भनाइ थियो । यस्तै हसिनाले देश छाड्नुभन्दा केही महिना पहिले नै अमेरिकाले बंगालादेश र म्यानमारलाई अमेरिकाले क्रिस्चियन मुलुक बनाउन खोजेको आरोप पनि लगाएकी थिन् ।

हसिनाले देश छाडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । करिब एक महिना लामो देशव्यापी प्रदर्शनपछि हसिनागत साता देश छाडेर भाग्न बाध्य भएकी थिइन् ।


क्लिकमान्डु