
काठमाडौं । साढे ६ महिनादेखि रोकिएको भुक्तानी पाएपछि अस्पतालहरुले स्वास्थ्य बिमा सेवा पुन: सुरु गर्ने भएका छन् । स्वास्थ्य बिमा बोर्डले आंशिक रुपमा बक्यौता भुक्तानी गरेका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन गर्ने भएको छ।
बोर्डले देशभरका सेवा प्रदायक संस्थाहरूलाई कुल २ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेसँगै शिक्षण अस्पतालले आगामी असार १५ गतेदेखि सेवा सुचारु गर्ने निर्णय गरेको हो।
बीमा बोर्डका अनुसार शिक्षण अस्पतालले ४ करोड ४ लाख रुपैयाँ भुक्तानी पाएसँगै भोलिबाट स्वास्थ्य बिमा सेवा दिने भएको छ ।
स्वास्थ्य बिमा बोर्डले असार ८ गते गरेको निर्णयअनुसार देशभरका ३६४ वटा स्वास्थ्य संस्थाहरूलाई कुल २ अर्ब ८ लाख २३३ रुपैयाँ भुक्तानी दिएको छ।
लामो समयदेखि अर्बौंको बक्यौता बाँकी रहे पनि यो प्राप्त रकमले अस्पताललाई सेवा पुनः सुरु गर्ने भएको छ ।
अस्पताल प्रशासनले असार ११ गते जारी गरेको सूचनाअनुसार हालका लागि ओपीडी सेवा मात्र पुनः सञ्चालन हुनेछ। यसका लागि सेवाग्राहीहरूले असार १५ गतेदेखि बिहान ७ बजेदेखि ११ बजे र दिउसो १ बजेदेखि साढे २ बजेसम्मको टिकटमा स्वास्थ्य बिमा सेवा दिने भएको छ ।
स्वास्थ्य बिमा बोर्डको यो निर्णयले ६ महिनापछि सेवाग्राहीलाई लाभ हुने भएको छ । बिमा बोर्डले समयमै सोधभर्ना नगरेको भन्दै शिक्षण अस्पतालले गत माघ १ गतेदेखि बिमा कार्यक्रम पूर्ण रूपमा बन्द गरेको थियो। अस्पतालले भर्ना र शल्यक्रिया लगायतका अन्य सेवाहरू दिइने यो सेवा भने बिमा अन्तर्गत कहिलेदेखि सुरु गर्छ भन्नेबारे स्पष्ट पारेका छैनन् ।
बोर्डले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को दाबी रकममध्येबाट यो भुक्तानी पठाएको हो। विशेषगरी २०८२ असोज, कात्तिक र मंसिर मसान्तसम्मको स्वीकृत दाबीका आधारमा यो रकम निकासा गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार हालसम्म कुल २७ अर्ब ८१ करोड ७० लाख ५३ हजार ४८० रुपैयाँ बराबरको दाबी रुजु भएको छ। यसमध्ये गत आर्थिक वर्षहरूमा दिइएको पेश्की र यसअघि भइसकेको भुक्तानी कटाएर बाँकी रहेको बक्यौतामध्येबाट अहिले २ अर्ब ८ लाख रुपैयाँ पठाइएको हो। योसँगै चालु आर्थिक वर्षमा हालसम्म कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४९१ रुपैयाँ भुक्तानी भइसकेको छ।
बोर्डको २०८१ चैत १९ गतेको बैठकको निर्णयअनुसार, स्वीकृत दाबी रकमबाट २ प्रतिशत रकम कट्टा गरेर मात्र भुक्तानी पठाइएको छ।
अर्थ मन्त्रालयले गत असार ४ गते बजेट निकासा गरेपछि बोर्डले असार ८ गते सबै सेवा प्रदायक संस्थाहरूको खातामा रकम पठाउने प्रक्रिया सुरु गरेको थियो।
स्वास्थ्य बिमा बोर्डका उपसचिव (लेखा) पुष्पप्रसाद गुरागाईँद्वारा जारी सूचनाअनुसार, यो भुक्तानीले अस्पतालहरूलाई कार्यसञ्चालनमा सहजता ल्याउने र बिरामीहरूले पुनः बिमा सुविधा पाउने उल्लेख छ ।






प्रतिक्रिया