निर्वासनका लागि शेख हसिना बेलायत जान नपाउने



बेलायती अधिकारीले भने- ‘अस्थायी शरण वा निर्वासन लिनका लागि बेलायत यात्रा गर्ने प्रावधान छैन ।’ बेलायतको शरण लिने तयारी गरेकी शेख हसिना अझै केही दिन दिल्लीमै बस्नुपर्ने भएको छ ।

एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले तत्काल बेलायतको शरण नपाउने देखिएको छ। अर्थात् उनी केही दिन भारतमै रहनुपर्ने छ ।

भारतीय सञ्चारमाध्यम एनडीटीभीले हसिनाको सम्भावित निर्वासनबारे बेलायती अधिकारीहरुसँग प्रतिक्रिया लिएर समाचार प्रकाशन गरेको छ । जहाँ बेलायती अधिकारीले निर्वासनका लागि बेलायत यात्रा गर्ने प्रावधान नभएको बताएका छन् । यसर्थ निर्वासन लिनका हसिनाले बेलायतको यात्रा गर्न नपाउने ती अधिकारीले संकेत गरेका हुन् ।

एनडीटीभीले प्रकाशन गरेको समाचारमा बेलायती अधिकारीको प्रतिक्रिया उल्लेख छ, ‘बेलायसँग मानिसहरुलाई आवश्यक परेका बेला सुरक्षा प्रदान गरेको गौरवशाली इतिहास छ। तर कुनै व्यक्तिलाई बेलायतमा निर्वासन वा अस्थायी शरण लिनका लागि बेलायतको यात्राको अनुमति दिने कुनै प्रावधान छैन । जसलाई अन्तर्राष्ट्रिय संरक्षण आवश्यक छ उसले सबैभन्दा पहिले सुरक्षित देशमै शरण माग्नुपर्छ । सुरक्षाको लागि सबैभन्दा छोटो बाटो त्यही नै हो ।’

बेलायती अधिकारीको यस्तो भनाइलाई लिएर बेलायतमा निर्वासन वा अस्थायी शरणका लागि हसिनाले तत्काल लण्डनको यात्रा गर्न पाउने देखिएको छैन । यसकारण उनी अझै केही दिन भारतमै रहने छिन् । हाल उनी नयाँदिल्लीमा रहे पनि यसबारे विस्तृत जानकारी दिइएको छैन ।

सोमबार ढाकाबाट भागेर भारत पुगेकी हसिनाले बेलायतमा शरण लिन खोजेको बताइएको थियो। बंगलादेशमा आन्दोलन अनियन्त्रित हुँदै गएपछि हसिना सोमबार सेनाको हेलिकप्टरबाट देश छाडेर भारत पुगेकी थिइन् । उनी सुरुमा भारतको उत्तर प्रदेश पुगेकी थिइन् । अन्तर्राष्ट्रि मिडियाहरुका अनुसार त्यसपछि उनले बेलायतको यात्रा गर्ने योजना बनाएकी थिइन् ।

बेलायतको यात्रा गर्न नपाउने भएपछि हसिना उत्तरी यरोपियन देशहरुमा जासक्ने पनि आकलन गरिएको छ । जहाँ उनको परिवारका सदस्यहरु बस्दैआएका छन् ।

यसैबीच भारतीय विदेशमन्त्री एस जयशंकरले हसिना अत्यन्त छोटो समयको सूचना दिएर भारत पुगेको बताएका छन् । उनले यसबारे मंगलबार लोकसभालाई पनि जानकारी गराएका छन्। र सँगै बंगलादेशी अधिकारीहरुले भारतका लागि उडानको अनुमति पनि मागेको जयशंकरले बताए ।


क्लिकमान्डु