
काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली अपनाउने विषयमा विस्तृत अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।
संघीय संसद्मा आर्थिक विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
अर्थमन्त्री वाग्लेका अनुसार उक्त समितिले दिने प्रतिवेदन र सुझावका आधारमा मुलुकको अर्थतन्त्रका लागि हितकारी हुने गरी आवश्यक निर्णय लिइनेछ । भ्याटमा बहुदर कार्यान्वयन गर्दा हुनसक्ने सम्भावित जोखिमबारे चर्चा गर्दै उनले भने, ‘राज्य संयन्त्र इमानदार नभएको खण्डमा उच्च दरबाट तल्लो दरमा कर झार्न शक्ति र पहुँचका आधारमा लबिइङ हुनसक्ने चुनौती रहन्छ ।’
उनले कुशासन हावी भएको अवस्थामा बहुदर प्रणाली चुनौतीपूर्ण हुने तर्क आए पनि व्यवसायीहरूबाट भने यसका लागि निरन्तर दबाब आइरहेको बताए ।
सरकारले पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली सुरु गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको बजेटमार्फत बिजुली खपत र राइड सेयरिङमा ५ प्रतिशतका दरले भ्याट लाग्ने व्यवस्था गरेका हुन् ।
हाल भ्याटको एउटै दर १३ प्रतिशत मात्र रहेकोमा अब भने बहुदर कायम भएको छ । बिजुली खपत र राइड सेयरिङमा लागेको भ्याट तुरुन्तै कार्यान्वयनमा आएको पनि उल्लेख छ ।
अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यको ‘स्वेच्छिक अनुपालन र करको दायरा विस्तार’ शीर्षकअन्तर्गत बिजुली खपतमा कर लिने व्यवस्था गरेका हुन् ।






प्रतिक्रिया