
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको समूह चरणका सबै खेलहरू सकिएसँगै अब नकआउट चरण सुरू हुँदै छ ।
३२ टोलीको यो समीकरणलाई हेर्दा विश्व फुटबलका केही ठूला र दिग्गज टोलीहरूको यात्रा अन्तिम १६ सम्म पुग्दा नपुग्दै टुंगिने निश्चित देखिएको छ जहाँ साविक विजेता र पूर्व विश्वविजेताहरू आपसमा भिड्नेछन् ।
जर्मनी/फ्रान्समध्ये एउटा अन्तिम १६ बाटै बिदा
यदि जर्मनीले पाराग्वेलाई र फ्रान्सले स्विडेनलाई आ-आफ्नो पहिलो नकआउट खेलमा पराजित गरे भने, यी दुई विश्वविजेताहरू अन्तिम १६ मै एकअर्का विरुद्ध मैदानमा उत्रिनेछन् । यसको प्रत्यक्ष अर्थ हो— जर्मनी वा फ्रान्समध्ये एक टोली क्वार्टरफाइनल पुग्नुअघि नै प्रतियोगिताबाट बाहिरिनेछ । फुटबल प्रेमीहरूका लागि यो निकै दुखद खबर हो किनभने दुवै टोली उपाधि दाबेदार मानिएका थिए ।
त्यस्तै, प्रतियोगिताको सबैभन्दा ‘खतरनाक जोन’ तल्लो खण्डमा देखिएको छ, जहाँ स्पेन, पोर्चुगल र क्रोएसिया एउटै समूहमा परेका छन् । क्रोएसिया र पोर्चुगल त अहिले नै (राउण्ड अफ ३२) आमनेसामने हुँदैछन् । यसको अर्थ क्रिस्टियानो रोनाल्डो वा लुका मोड्रिचमध्ये एकको विश्वकप यात्रा एक खेल लगत्तै सकिनेछ । तर विडम्बना के छ भने, यो खेलको विजेताले अर्को चरण (राउन्ड अफ १६मा) मा फेरि स्पेनको सामना गर्नुपर्ने सम्भावना प्रबल छ । यसले गर्दा स्पेन, पोर्चुगल र क्रोएसिया जस्ता तीनवटा दिग्गज टोलीमध्ये केवल एक टोली मात्र अन्तिम ८ मा पुग्न पाउनेछ ।
अर्कोतर्फ, साविक विजेता अर्जेन्टिनाको बाटो केही खुला देखिए पनि उनीहरूका लागि ‘अफ्रिकी र एसियाली’ पासो देखिएको छ ।
अर्जेन्टिनाले पहिलो खेलमा यो विश्वकपमा सनसनी मच्चाइरहेको केप भर्डको सामना गर्नेछ भने अन्तिम १६ मा पुगेपछि उसले अस्ट्रेलिया वा इजिप्टमध्ये एकसँग खेल्नुपर्नेछ । विगतको इतिहास हेर्दा अस्ट्रेलियाले अर्जेन्टिनालाई सधैं कडा चुनौती दिने गरेको छ, जसले गर्दा मेस्सीको टोली अन्तिम १६ मै दुर्घटनामा पर्न सक्ने जोखिम कायमै छ।
विश्वकपका आयोजक राष्ट्रहरूका लागि पनि नकआउट चरण अग्निपरीक्षा जस्तै बनेको छ । मेक्सिकोले इक्वेडरलाई हराएमा अन्तिम १६ मा उसको भेट सम्भवतः इङ्गल्याण्डसँग हुनेछ । घरेलु मैदानमा मेक्सिकोलाई हराउनु जति कठिन छ, इङ्गल्याण्डको आक्रामक टोलीलाई रोक्नु त्यति नै चुनौतीपूर्ण हुने देखिन्छ । यसैगरी, आयोजक अमेरिकाले पनि क्वार्टरफाइनल पुग्नका लागि बेल्जियम वा सेनेगल जस्ता अनुभवी टोलीहरूको अवरोध पार गर्नुपर्नेछ ।
यी सबै समीकरणलाई हेर्दा, २०२६ को विश्वकपमा क्वार्टरफाइनल पुग्ने ८ टोलीको नामावली निकै अनपेक्षित हुने सम्भावना छ। ब्राजिल, नेदरल्याण्ड्स र कोलम्बिया जस्ता टोलीहरूले पनि आफ्ना खेलहरूमा सानो गल्ती गरेमा अन्तिम १६ मै बिदाइ लिनुपर्नेछ ।







प्रतिक्रिया