
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा स्वतः नवीकरण हुने ‘सस्क्रिप्शन-बेस्ड’ प्याकेजहरू सञ्चालनमा ल्याएको छ। यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना प्याकेज सक्रिय गरिरहनु पर्दैन । ग्राहकले टेलिकमले तोकेको यस्तो प्याकेज लिएपछि मासिक रिचार्ज गरेपछि तुरुन्तै उक्त प्याकेज स्वचालित हुन्छ । यसलाई मासिक न्यूनतम खर्च गर्नैपर्ने र त्यसबाट पाइने सुविधाको प्याकेज भनेर बुझ्नुपर्ने नेपाल टेलिकमकको भनाइ छ ।
टेलिकमका अनुसार यो सेवा एकपटक सक्रिय गरिसकेपछि ग्राहकको मोबाइलमा उपलब्ध ब्यालेन्सका आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ। कम्पनीले ३० दिन समयावधिका तीन प्रकारका ‘नमस्ते रिकरिङ’ प्याकेजहरू उपलब्ध गराएको छ।
यसका लागि नमस्ते रिकरिङ २९९ प्याकदेखि यो भन्दा ठूलो प्याकेज लिन सकिन्छ । २९९ रुपैयाँमा उपलब्ध हुने प्याकेजमा ३०० मिनेट अल-नेट भ्वाइस कल, ४ जीबी डाटा (जुनसुकै समयमा प्रयोग गर्न मिल्ने), राती ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डाटा र २० वटा अन-नेट एसएमएस उपलब्ध हुनेछन्।
नमस्ते रिकरिङ ४९९ प्याक अन्तर्गत ४९९ रुपैयाँमा अर्को प्याकेज उपब्ध हुने छ । यसका लागि ५०० मिनेट अल-नेट भ्वाइस, ८ जीबी डाटा, ४ जीबी नाइट डाटा र १०० वटा अल-नेट एसएमएस प्राप्त हुनेछ।
टेलिकमले ७९९ रुपैयाँमा नमस्ते रिकरिङ प्याक उपलब्ध गराएको छ । यस प्याकेजमा सबै नेटवर्कमा असीमित कल गर्न सकिने सुविधा छ। साथै, प्रतिदिन १० जीबीका दरले मासिक ३०० जीबी डाटा र ३०० वटा अल-नेट एसएमएस उपलब्ध हुने टेलिकमले जनाएको छ।
टेलिकमले सस्क्रिप्शनमा आधारित प्याकेज लिने ग्राहकले आफ्नो आवश्यकता अनुसार थप डाटाका लागि ‘एड-अन’ प्याकेज पनि लिन सक्नेछन्। जसमा ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी र ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डाटा उपलब्ध हुनेछ।
सेवाग्राहीले आफ्नो मोबाइलबाट *1415# डायल गरी प्राप्त निर्देशन अनुसार यी प्याकेजहरू खरिद गर्न सक्ने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया