प्राधिकरणको सञ्चालक समितिमा पूर्वसचिव कार्की र महेन्द्र गुरुङ नियुक्त



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबारदेखि लागु हुने गरी कपिल आचार्य तथा भक्तबहादुर पुनलाई हटाएर कार्की र गुरुङलाई  नियुक्त गरेको हो । देवेन्द्र कार्की ऊर्जा मन्त्रालयबाट सचिव भएर रिटार्यड भएका कर्मचारी हुन् भने गुरुङ सहसचिवबाट रिटार्यड हुन् ।

गुरुङले पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरिसकेका छन् ।  उनले विद्युत विकास विभागको महानिर्देशक भएर समेत काम गरेका छन् । कार्की ऊर्जा सचिवबाट उमेर हदका कारण २०७९ जेठ ४ गते रिटार्यड भएका हुन् । सडक विभागको दुईपटक महानिर्देशक बनेर काम गरिसकेका छन् ।

कार्की कांग्रेस र गुरुङ एमालेको कोटाबाट नियुक्त भएका हुन् । कार्की नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

उनीहरुलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्ताहरु मध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

उर्जा मन्त्री दीपक खड्काको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गरिएको हो ।

उद्योगमा बिजुली लाइन जोड्ने निर्णयविरुद्ध नोट अफ डिसेन्ट राख्ने दुई सञ्चालक आचार्य र पुनलाई यसअघि नै सरकारले स्पष्टीकरण सोधेको थियो । उनीहरुले यो निर्णयले प्राधिकरणको बक्यौता उठ्नुको साटो थप गिजोलिने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए । साउन पहिलो साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णयविपरीत कार्य गरेको भन्दै उनीहरुलाई साउन १५ गतेसम्मको अल्टिमेटम दिँदै स्पष्टीकरण सोधिएको थियो । चित्तबुझ्दो जवाफ नआएपछि ऊर्जा मन्त्रालयले उनीहरुलाई २० गते आइतबारदेखि लागु हुने गरी समितिबाट हटाउने निर्णय गरेको हो ।


क्लिकमान्डु