बिजुली महसुल विवादमा नोट अफ डिसेन्ट लेख्‍ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो



हटाइएका आचार्य भन्छन्- ‘हामीले ह्वाट्स एपमा आधा घण्टा अघि हटाएको जानकारी पाएका छौं । बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउँदा उल्टै हटाइयो । देशभर प्रयोग गरेको बत्तीको बक्यौता नतिर्ने अभियान सुरु भएको छ । सरकार अराजकता बढाउनतिर लाग्यो ।’

काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबारदेखि लागु हुने गरी कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको पत्र थमाएको हो ।

विद्युत नियमन आयोगको निर्देशनका आधारमा समितिको बैठकले ३ महिनाभित्र बक्यौता‍ तिर्ने शर्तमा लाइन जोड्ने निर्णय गरेको थियो ।

उद्योगमा बिजुली लाइन जोड्ने निर्णयविरुद्ध नोट अफ डिसेन्ट राख्ने दुई सञ्चालक आचार्य र पुनलाई यसअघि नै सरकारले स्पष्टिकरण सोधेको थियो । उनीहरुले यो निर्णयले प्राधिकरणको बक्यौता उठ्नुको साटो थप गिजोलिने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए । साउन पहिलो साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णयविपरीत कार्य गरेको भन्दै उनीहरुलाई साउन १५ गतेसम्मको अल्टिमेटम दिँदै स्पष्टिकरण सोधिएको थियो । चित्तबुझ्दो जवाफ नआएपछि ऊर्जा मन्त्रालयले उनीहरुलाई २० गते आइतबारदेखि लागु हुने गरी समितिबाट हटाउने निर्णय गरेको हो ।

‘हामीले ह्वाट्स एपमा आधा घण्टा अघि हटाएको जानकारी पाएका छौं । औपचारिक रुपमा पत्र आएको छैन,’ कपिल आचार्यले भने, ‘बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउँदा उल्टै हटाइयो । देशभर प्रयोग गरेको बत्तीको बक्यौता नतिर्ने अभियान सुरु भएको छ । सरकार अराजकता बढाउनतिर लाग्यो ।’

आजै ४ बजे सञ्चालक समितिको बैठक बस्दैछ । उक्त बैठकले सञ्चालक समितिका दुवै सदस्यलाई बिदाई गर्न लागेको बुझिएको छ । नोट अफ डिसेन्ट लेखेपछि उनीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट बनेका थिए । आचार्य नेकपा एकीकृत समाजवादी र पुन माओवादी केन्द्र निकटको रुपमा चिनिन्छन् ।


क्लिकमान्डु