विगतमा गभर्नरलाई सहमत गराउन समय लागेको थियो, अहिले एकैपटक ट्युनिङ मिल्यो भन्ने चर्चा छ: महत



काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले आफू अर्थमन्त्री रहेको बेलामा लचिलो मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नरलाई सहमत गराउन लामो समय लागेको स्मरण गराएका छन् ।

शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा महतले आफूलाई समय लागेको भए पनि वर्तमान सरकार र अर्थमन्त्रीलाई लचिलो मौद्रिक नीतिका लागि गभर्नरलाई सहमत गराउन समय नलागेको र बजारमा दुईबीच ट्युनिङ मिलेको चर्चा चलिरहेको बताए ।

राष्ट्र बैंक स्वायत्त हो भन्नेमा विवाद नरहेको भन्दै महतले अर्थ मन्त्रालयसँग गभर्नरको समन्वय हुनु्पर्ने र सरकारको कुरा कति सुन्ने भन्ने उनमा भर पर्ने बताए । आफू अर्थमन्त्री हुँदा गभर्नरलाई स्वतन्त्र रुपमा काम गर्न दिएको बताए ।

‘सामान्यतया गभर्नरलाई स्वतन्त्र रुपमा काम गर्न दिएको हो । कहिले उहाँले सुनेको अवस्था हो भने कहिले नसुनेको अवस्था हो । यो गभर्नरको कुरा हो के गर्ने भन्ने,’ महतले भने, ‘ म हुँदा धेरै पछि सुनियो । अहिले मौद्रिक नीति धेरै खुकुलो भएको छ । बजारमा अर्थमन्त्री र गभर्नरबीच ट्युनिङ मिलेको कुरा आएको छ ।’

धेरै प्रयासपछि मात्र गभर्नरलाई आफ्नो कुरामा सहमत गराउन सकेपछि मौद्रिक नीति केही लचिलो आएको र सेयरबजार १८ सयबाट २२ सयसम्म पुगेको उनले बताए ।

मौद्रिक नीति कहिले धेरै खुकुलो त कहिले धेरै कसिलो हुने समस्या रहेको र यसले अर्थतन्त्रमा समस्या पारेको उनले बताए । धेरै खुकुलो मौद्रीक नीति आउँदा परिणाम नआएको र ऋण फिर्ता गर्न नसक्ने अवस्था आएको उनले बताए । ‘पछि फेरि निकै कसिलो आयो । मौद्रीक नीति सन्तुलित भएन भएन हामीलाई फाइदा गर्दैन,’ महतले भने ।

विशेष गरि सेयरमा लगानीकर्ताहरु संयमित हुनुपर्ने महतले बताए । कमजोर कम्पनीमा लगानी गर्दा सोझासाझा लगानीकर्ता फस्ने जोखिम रहेको भन्दै उनले कम्पनीको क्षमता हेर्नुपर्ने बताए ।

‘बाठाहरुले कमजोर कम्पनीको ह्वात्त रेट बढाउने र सोझासाझाहरुले पनि बढ्छ भनेर किन्ने गरेको पाइन्छ । जसले गर्दा फस्ने जोखिम हुन्छ, जुन विगतमा पनि भएको थियो,’ महतले भने, ‘नियामक यसमा सचेत र जिम्मेवार हुनुपर्छ।’

सेयर बजार कम्पनीको पर्फर्मेन्समा आधारित हुनुपर्ने उनको भनाइ छ । राम्रो गर्ने कम्पनीको मूल्य बढ्ने र नराम्रो गर्नेको घट्ने हुनु पर्ने र त्यसमा कसैलाई झुक्याउन नहुने मतले बताए ।


क्लिकमान्डु