अर्थमन्त्री र गभर्नरबीच ‘रियल ट्युनिङ’ मिल्नै पर्छ: पौडेल



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच ट्युनिङ मिल्नु पर्ने बताएका छन्। शुक्रबार संघीय संसद अन्तर्गतको अर्थसमितिको बैठकमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंक स्वायत्त निकाय भए पनि दुई जनाबीचको ट्युनिङ मिल्नु पर्ने बताएका हुन् ।

‘राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच रियल ट्युनिङ मिल्नै पर्छ,’ पौडेलले भने, ‘कोट अन कोटको ट्युनिङ होइन ।’ अर्थमन्त्री पौडेलले मौद्रिक नीति लचिलो ढंगले आएको बताए ।

अर्थमन्त्री पौडेलले खर्च कसरी गर्ने भन्ने विषयमा आफूहरु सचेत रहेको बताए । उनले सहयोग आवश्यकताका आधारमा लिने बताए ।

संसद्ले पास गरेको बजेट कार्यान्वयन गर्ने आफूहरुको सोच भएको भन्दै उनले अध्ययन नभएका र प्रतिफलका विषयमा पूर्वानुमान नभएका योजनामा बजेट विनियोजन गरियो भन्ने भ्यालिड प्रश्न रहेको बताए ।

‘बजेट कार्यान्वयन गर्दा सुरू भएका र प्रतिफल दिने योजनमा बजेट विनियोजन हुनु पर्छ,’ उनले भने, ‘स्रोतको अधिक्तम प्रयोग गर्नेमा हामीहरू सचेत छौं ।’

अर्थमन्त्री पौडेलले सहकारीमा समस्या देखिएको भए पनि सहकारी आन्दोलनको औचित्य नसकिएको बताए ।

सेयर बजारका लगानीकर्ताले कम्पनीको स्ट्रेन्थ हेर्नै पर्ने अर्थमन्त्री पौडेलले बताए । सेयर बजारलाई प्रभावित पार्ने गरि कुनै गतिविधि हुन हुँदैन भनेर आफूले अध्ययन गर्न निर्देशन दिएको पौडेलले जानकारी दिए ।

‘सेयर किन्दा किन्न नसकिने र बिक्री गर्दा बिक्री नहुने गरी समस्या आएको विषयमा अध्ययन गर्न निर्देशन दिएको छु,’ अर्थमन्त्री पौडेलले भने, ‘ सेयरबजार अर्थतन्त्रको एना हो । यसलाई हत्तोसाही बनाउने भन्ने हुँदैन ।’


क्लिकमान्डु