असहयोग गरेपछि पूर्वमन्त्री दुगडको कम्पनीको १ अर्बको रेटिङ फिर्ता, बैंकको लगानी जोखिममा



काठमाडौं । आवश्यक सूचना नदिएपछि पूर्वउद्योग राज्यमन्त्री मोतिलाल दुगड अध्यक्ष रहेको कम्पनीको १ अर्ब रुपैयाँ बराबरको ऋणको रेटिङ फिर्ता भएको छ ।

नेपाली बजारमा सेन्चुरी ब्रान्डको विभिन्न प्रकारका मसला बिक्री वितरण गर्ने दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टको १ अर्ब रुपैयाँ बराबरको ऋणको रेटिङ केयर रेटिङ नेपालले फिर्ता लिएको हो ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२३ को तथ्यांक नदिएर असहयोग गरेको भन्दै केयर नेपालले रेटिङ फिर्ता लिएको हो ।

५० करोड रुपैयाँभन्दा बढी ऋण लिने कम्पनीको अनिवार्यरुपमा रेटिङ गराउनु पर्ने कानूनी व्यवस्था छ । तर एमाले नेता समेत रहेका दुगडले १ अर्बको हाराहारीमा ऋण भएको दुगड स्पाइसेसको रेटिङ नवीकरण गराएका छैनन् । यसले गर्दा उक्त कम्पनीमा लगानी गरेका बैंकहरुको ऋण जोखिममा परेको हो ।

‘मूल्याङ्कनहरू निगरानी गर्न केयर रेटिङ नेपालले दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्ससँग २०२४ को जुलाई १५ र १९ मा इमेल र पत्रहरूमार्फत र जुलाई २९ मा धेरै फोन कल मार्फत बारम्बार आग्रह गर्दा पनि कम्पनीले सूचना उपलब्ध गराएको छैन, रेटिङमा ग्राहकबाट कुनै सहयोग छैन’ केयर नेपालले भनेको छ- ‘नेपाल धितोपत्र बोर्डको विद्यमान निर्देशिका अनुसार दुगड स्पाइसेको रेटिङ फिर्ता लिइएको छ ।’

केयर नेपालले दूगड स्पाइसेसलाई असहयोग गर्नेको सूचीमा राखेको छ । अब पनि सहयोग नगरे रेटिङ खारेज गरी कारबाही अघि बढाउँछ । यसअघि गरिएको रेटिङ प्रयोग गर्दा लगानीकर्ता, ऋणदाता र आम सर्वसाधारणलाई सावधान रहन केयर नेपालको अनुरोध छ ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका परम्परागत मसला, स्न्याक्स, नमकिन, अचार, फलफूलको जाम, जेलिस, चकलेट, ड्राई फ्रुट एण्ड नट्स, ब्रेकफास्ट सिरियल, सीटीसी चिया उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक १५ हजार ३० मेट्रिक टन वस्तु उत्पादन गर्दै आएको छ । साथै, कम्पनीको उक्त वस्तु नेपालमा मात्रै विदेशमा पनि बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु