मौद्रिक नीति कठोर हुनु हुँदैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीति कठोर हुन नहुने बताएका छन् ।

नेपाल उद्योग परिसंघसँगको छलफलमा ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने बताएका हुन् ।

कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको बिरोध गर्न सक्नुपर्ने बताए ।

मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको उनको भनाइ छ । आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको बताए ।

अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रले आफू नेतृत्वको सरकारप्रति आशा, भरोसा गर्नु पर्ने बताए ।

‘मुलुकको प्रधानमन्त्री बन्नको लागि मात्र म आएको होइन । समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ’ ओलीले भने, ‘त्यसैले तपाईंहरुको आशा भरोसा हामीमाथि हुनैपर्छ ।’

प्रधानमन्त्री ओलीलाई परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने बताए ।

उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्तान्त दिँदै उनले निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए । विगतका संकुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा संकुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको अध्यक्ष अग्रवालले बताए ।

सो अवसरमा परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व अध्यक्षद्वय सतिश कुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ्ग काउन्सिल सदस्यहरु शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।


क्लिकमान्डु