डा. खतिवडाको इन्ट्रीपछि मौद्रिक नीतिमा अन्योल, आज नआउने सम्भावना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएसँगै मौद्रिक नीतिमा अन्योल छाएको छ । तयार भइसकेको मौद्रिक नीतिको मस्यौदा डा. खतिवडाले ‘एकपल्ट हेर्छु’ भनेपछि मौद्रिक नीति आजै सार्वजनिक हुने सम्भावना करिब टरेको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिले पास गरिसकेको मौद्रिक नीतिको मस्यौदा आज बिहान सञ्चालक समितिको वैठकबाट अनुमोदन गराउने तयारी थियो । तर, डा. खतिवडाको चासोले पूर्वनिर्धारित सयमतालीका प्रभावित भएको स्रोतको दाबी छ ।

डा. खतिवडा बिहीबारको मन्त्रिपरिषद बैठकबाट मन्त्रीबराबर मानिने प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका थिए ।

प्रधानमन्त्री कार्यालयबाट मौद्रिक नीतिमा चासो आएपछि शुक्रबार बिहान बोलाइएको सञ्चालक समिति वैठकमा मौद्रिक नीति अनुमोदन गर्ने एजेन्डा हटाइएको छ ।

यसअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याएको पहिलो मौद्रिक नीतिमा तत्कालीन अर्थमन्त्री रहेका डा. खतिवडाले चासो देखाएपछि अधिकारीले तत्कालीन प्रधानमन्त्री केपी ओलीको समर्थन लिएर मौद्रिक नीति ल्याएका थिए । त्यसबेला आवश्यकताभन्दा लचिलो मौद्रिक नीति ल्याएको भन्दै खतिवडा अधिकारीसँग रुष्ट थिए ।

अहिले गभर्नरले लचिलो मौद्रिक नीति ल्याउन लागेको भन्दै खतिवडाले चासो जनाएको स्रोतको दाबी छ ।

शुक्रबार बिहानको सञ्चालक समिति वैठकमा मौद्रिक नीतिबारे एजेन्डा नभएका कारण आजै मौद्रिक नीति सार्वजनिक हुने सम्भावना टरेको छ ।


क्लिकमान्डु