पोखरा एयरपोर्टको रनवे धसाएर डाँडो काटेकोबारे छानबिन समितिको प्रश्नमा क्यान नेतृत्वको गोलमटोल जवाफ



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ निर्माण गर्दा धावनमार्ग धसाएर ४० मिटरको डाँडाँ काटेको विषयमा संसदीय छानबिन समितिले अध्ययन सुरु गरेको छ ।

पोखरामा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार र विमानस्थल सञ्चालनको २ वर्षसम्म पनि एउटै पनि अन्तर्राष्ट्रिय उडान नभएको विषयमा संसदको सार्वजनिक लेखा समितिको एक उपसमितिले छानबिन थालेको हो ।

छानबिन उपसमितिले आइतबार पोखरा पुगेर स्थलगत निरीक्षण गरेर विमानस्थल निर्माणसहितको विषयमा अध्ययन गरिरहेको छ ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको अध्यक्षतामा बनेको उपसमितिले पोखरा विमानस्थलको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र विमानस्थलका तत्कालीन अयोजना प्रमुख विनेश मुनकर्मी लगायतसँग सोधपुछ गरेको समितिका एक सदस्यले जानकारी दिए ।

संसदीय छानबिन समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन राष्ट्रिय गौरवका आयोजना प्रमुखको रुपमा काम गरेका अधिकारीमाथि सिधा प्रश्न गरेको छ । छानबिन उपसमितिले अधिकारी र मुनकर्मीसँग रनवे धसाएर डाँडो धेरै काट्दा भएको अधिक खर्च, त्यसको जिम्मेवारी, भुक्तानीसहितका विषयमा प्रश्न सोधेको उपसमितिका एक सदस्यले क्लिकमान्डुलाई जानकारी दिए ।

‘छानबिन उपसमितिले क्यानका डीजी प्रदीप अधिकारी र विमानस्थलका तत्कालीन अयोजना प्रमुख विनेश मुनकर्मीसँग कुराकानी गरेको हो । रनवे धसाएर डाँडो काट्नुको कारण, त्यसमा भएको खर्च र भुक्तानी लगायका विषयमा हामीले प्रश्न गरेका थियौं,’ छानबिन उपसमितिका सदस्यले क्लिकमान्डुसँग भने, ‘तर उहाँहरुले गोलमटोल जवाफ दिनुभयो ।’

उनकाअनुसार छानबिन समितिले आवश्यक अध्ययन गरिरहेको छ । संसदीय समितिले छानबिन उपसमितिलाई १ महिनाभित्र प्रतिवेदन पेस गर्न समय दिएको छ ।

विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि छानबिनका लागि उपसमिति गठन भएको थियो । समितिले पोखरा र भैरहवा विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता लगायत समग्र पक्षको छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न असार १३ मा दुईवटा उपसमिति गठन गरेको थियो।

पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य रहेको छन् ।

सरकारले करिब २५ अर्ब रुपैयाँ भौतिक संरचना निर्माणमा मात्रै खर्च गरेको यो विमानस्थल बनाउँदा अर्को अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यो विमानस्थल बनाउने क्रममा धावनमार्ग धसाउन ४० मिटर डाँडा काट्दा राज्यलाई अतिरिक्त आर्थिक भार थपिएको थियो । तर यसरी रनवे धसाएकै कारण विमानस्थल क्षेत्र होचो भएको र त्यसले रनवे डुबानमा पर्ने गरी जोखिमा पारिएको छ ।

यो विमानस्थल बनाउँदा एकातर्फ रनवे धसाएर विमानस्थल डुबानमा पर्ने जोखिम रहेको छ भने अर्कोतर्फ ४० मिटरको डाँडा काटिएको छ। जसका कारण जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले करिब ४ अर्ब ३४ करोड रुपैयाँ खर्चर बनाउँदै गरेको खानेपानीको ट्यांकीसमेत भत्काउनुपर्ने अवस्था बनेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन आयोजना प्रमुख तथा हालका महानिर्देशक प्रदीप अधिकारीले ठेकेदार कम्पनीसहित सम्बन्धित एजेन्सीसँगको मिलेमतोमा विमानस्थलको धावनमार्ग धसाइएको हो । सोही कारण ३० मिटर काटे पुग्ने धावनमार्गको पूर्वपट्टिको रिट्टेपानी डाँडा ४० मिटर काट्नुपरेको छ । जसकारण पोखराको कोलपाटनमा बनिसकेको खानेपानीको ट्यांकसमेत भत्काउनुपर्ने भएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना २०७४/७५ मा सुरु गरी २०७७/७८ मा सम्पन्न गर्दा राज्यलाई ऋण मात्रै २२ अर्ब रुपैयाँमा लागेको छ । विमानस्थल बनाउन चिनियाँ ऋणको उक्त २२ अर्ब मात्रै खर्च गरिने भनिए पनि लागत बढाएर विमानस्थलको संरचना निर्माण भएको छ । यो विमानस्थल सम्पन्न भएर सञ्चालन योग्य बनाउँदासम्म २५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको सरकारी निकायको प्रतिवेदनमै उल्लेख छ ।

यो विमानस्थल निर्माणको काम २०७९/८० मा सम्पन्न भएर २०८० पुस १६ मा उद्घाटनसमेत भइसकेको छ । तर, विडम्बना यो विमानस्थल सम्पन्न भएर उद्घाटन भएको डेढ वर्षसम्म पनि उडान हुन सकेको छैन ।

यो विमानस्थलमा उडान हुन नसक्नुमा राज्यसंयन्त्रको कमजारी छरपष्ट भइरहेको छ ।

पोखरा विमानस्थल निर्माण सम्पन्न भएपश्चात् विमानस्थल क्षेत्रभन्दा बाहिर उत्तरतर्फ करिब ४ किलोमिटर टाढा मणिपाल, सेती नदी, काहुँखोलादेखि करिब ५०० हेक्टर जग्गा वर्षातको समयमा पानी बग्ने, भित्री सडक तथा पृथ्वी राजमार्गको नालाबाट र सिँचाइको नहर हुँदै बगेर आउने पानी एकत्रित हुँदै विमानस्थल क्षेत्रमा पस्ने हुँदा विमानस्थल सञ्चालनमा समस्या आइरहने महालेखा परीक्षकको ६१औं प्रतिवेदनमा उल्लेख छ । उक्त विमानस्थलमा पानी पस्ने र डुबान हुने समस्या आउनुले निर्माणमा नै कमजोरी भएको महालेखाले औंल्याएको छ ।

डाँडा काट्ने काम‍भने गत वर्ष नै सकिइसकको छ । डाँडा काटेर नै विमानस्थल सुरु भएको पोखरा विमानस्थल कार्यालयको भनाइ छ ।

पोखरा विमानस्थल निर्माण गर्दा रनवेको पूर्वतर्फ १.५ किलोमिटरमा रहेको डाँडाले अवतरणमा अवरोध गर्ने देखिएकोले ४० मिटर काट्नुपरेको उल्लेख छ । यो डाँडा काट्न विमानस्थल आयोजनाले एक निर्माण व्यवसायीलाई गत आर्थिक वर्ष २०७९/८० मा मात्रै २८ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।


क्लिकमान्डु