६८३ मेगावाटको सुनकोसी-३ का लागि ३ परामर्शदाता सर्ट लिष्टमा, बंगलादेशले आयोजना बनाउने



काठमाडौं । ६८३ मेगावाटको सुनकोसी-३ जलविद्युत् आयोजनाको परामर्शदाता नियुक्तिका लागि निकालिएको ठेक्कामा तीन कम्पनी सर्ट लिष्टमा परेका छन् ।

नेपाल विद्युत प्राधिकरणले निकालेको ठेक्कामा आवेदन दिएकामध्ये डोल्सार/स्मेक जेभी, फिचनर एण्ड तेमेल्सु, पिनी जेभी र ट्रयाकबेल जर्मनी/ट्रयाकबेल इण्डिया सर्ट लिष्टमा परेका हुन् । सर्ट लिष्टमा परेका कम्पनीहरुसँग आशयपत्र मागिनेछ । उनीहरुले पेस गरेको प्राविधिक र वित्तीय प्रस्तावका आधारमा एउटा कम्पनी छनोट हुनेछ ।

डोल्सार/स्मेक जेभीको डोल्सार टर्कीको कम्पनी हो । स्मेक अष्ट्रेलियन कम्पनी हो । यी दुई कम्पनीले जेभी बनाएर आवेदन दिएका हुन् । फिचनर एण्ड तेमेल्सु, पिनी जेभीको  फिचनर जर्मनी कम्पनी हो । पिनी स्वीजरल्याण्डको कम्पनी हो । तेमेल्सु टर्कीको कम्पनी हो। ट्रयाकबेल जर्मनी/ट्रयाकबेल इण्डियाका कम्पनी हुन् । छनोट हुने कम्पनीले डिटेल इन्जिनियरिङ डिजाइन र टेण्डर डकुमेन्ट तयारीको काम गर्नेछ ।

विद्युत विकास विभागमार्फत यो आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भएको छ । विद्युत विकासँग लाइसेन्स लिएर नेपाल विद्युत प्राधिकरणले यो आयोजना निर्माण अघि बढाउन लागेको हो ।

यो आयोजना नेपाल विद्युत प्राधिकरण र बंगलालादेश पावर डेभलपमेन्ट बोर्डले सयुक्त लगानीमा निर्माण गर्नेछन् । त्यसका लागि यसअघि नै समझदारी भइसकेको छ । संयुक्त कम्पनी बनाएर निर्माण गर्ने सम्झौता गर्ने तयारी भइरहेको छ । नेपाल र बंगलादेशको सचिवस्तरीय बैठकमा सयुक्त कम्पनी बनाउने टुंगो लगाउने तयारी छ ।

असार दोस्रो साता दुई देशको सचिवस्तरीय बैठक काठमाडौं बस्ने तयारी थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।  त्यसो त असार दोस्रो सातादेखि ऊर्जा मन्त्रालयका सचिव पद रिक्त छ । असार १३ गतेबाट सुशिलचन्द्र तिवारी रिटार्यड भएपछि सचिव पद खाली छ ।

६० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाको बंगलादेशका प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षणसमेत गरिसकेको छ ।

प्रस्तावित सुनकोसी तेस्रो जलविद्युत आयोजनाको बाँधस्थल रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकामा पर्छ । काठमाडौंबाट करिब ८२ किलोमिटरको दूरीमा पर्ने बाँधस्थलबाट करिब ४५ किलोमिटर माथिसम्म आयोजनाको कृत्रिम ताल फैलिनेछ। जलाशयले खाँडादेवी गाउँपालिकाको लुभु, काभ्रेको दोलालघाट र सिन्धुपाल्चोकको बलेफी बजारका बस्तीलाई आंशिक वा पूर्णरुपमा डुबाउनेछ। सुनकोसी र तामाकोसी नदी आसपासको करिब ४ हजार २२४ हेक्टर क्षेत्र डुबानमा पर्छ ।

आयोजना निर्माण सुरु भएको करिब ७ वर्षमा सञ्चालनमा आउने अनुमान गरिएको छ। २०८२ मा निर्माण सुरु गरी २०८८ मा सम्पन्न गर्ने लक्ष्य छ । यो परियोजनामा आवश्यक लगानी बंगलादेशले जुटाउने छ । सयुक्त कम्पनी मेजोरिटी सेयर बंगलादेशको हुनेछ ।


क्लिकमान्डु