११ महिनामा सरकारले गर्‍यो ११ खर्ब ८० अर्ब रुपैयाँ खर्च, गत वर्षभन्दा ७ अर्ब बढी



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ११ खर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ । गत वर्ष जेठ ३१ गतेसम्म सरकारले ११ खर्ब ७३ अर्ब रुपैयाँ खर्च गरेको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ३१ गतेसम्म सरकारले कुल विनियोजित बजेटको ६७.३३ प्रतिशत रकम खर्च गरेको हो ।

गत जेठ १५ गते बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका थिए ।

चालु आर्थिक वर्षमा बजेट खर्चको संशोधित लक्ष्य पुरा गर्न असारमा ३ खर्ब ५० अर्ब रुपैयाँ खर्च हुनु पर्छ । संघिय सरकारको सञ्चित कोष घाटा २ खर्ब रुपैयाँ पुग्न लागेकाले चालु आर्थिक वर्षमा संशोधित लक्ष्य अनुसार बजेट खर्च गर्न कठिन हुने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा रकमान्तर गरेर भुक्तानी गर्नु पर्ने फाइल धेरै छन्,’ अर्थ मन्त्रालयका अधिकारीले भने, ‘सञ्चित कोष घाटामा रहेको र यो वर्ष आन्तरिक ऋण लिने स्पेश नभएकाले १५ खर्ब भुक्तानी हुन कठिन छ ।’

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै कुल विनियोजन बजेटको ८७.४ प्रतिशत खर्च हुने अनुमान गरेको छ ।

कुल सरकारी खर्च मध्ये चालु खर्च १० खर्ब ६७ अर्ब ४९ करोड रुपैयाँ अर्थात विनियोजनको ९३.५ प्रतिशत,  पुँजीगत खर्च २ खर्ब १५ अर्ब ३० करोड रुपैयाँ अर्थात विनियोजनको ७१.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ अर्थात विनियोजनको ८०.५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ।

सरकारी हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ३१ गतेसम्म चालू तर्फ विनियोजनको ७१.९७ प्रतिशत, पुँजीगत तर्फ ४४.३ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ ७२.७ प्रतिशत खर्च भएको छ ।

यो वर्ष चालु खर्च तथा वित्तिय व्यवस्थापन खर्च संशोधन अनुमान अनुसार नै हुने भएपनि पुँजीगत खर्च भने संशोधित अनुमान भन्दा कम हुने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु