ओली, देउवा र प्रचण्ड छोटे राजा बने, राजतन्त्र ठिक होइन: डा बाबुराम भट्टराई


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताएका छन् ।

बुधबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा भट्टराईले एकथरी मानिसहरु फेरि राजा महाराजा ल्याउने भनेर अघि सरिरहेको भन्दै राजतन्त्र ठिक नरहेको बताए ।

राजतन्त्र समस्याको समाधान नभएको उनको टिप्पणी छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल छोटे राजाको संज्ञा दिँदै उनले अहिलेसम्म देश र जनताको लागि कुनै काम नगरेको आरोप लगाए ।

आफू सरकारमा भएसम्म सबै ठिक र सरकार बाहिर गएपछि सबै सकियो भन्ने परिपाटी अहिलेका तीन नेताहरुले देखाउने गरेको उनको भनाइ छ ।

‘एकथरी मान्छेहरुलाई फेरि राजा महाराजा ल्याउने की भन्ने परेको छ । त्यो सत्य होइन, ठिक होइन । धामी झाँक्रीको रुपमा मृत भइसकेको राजतन्त्र आउने वाला छैन । त्यो समाधान होइन,’ उनले भने, ‘ अहिले अर्कोथरी तीन वटा टाउकाका रुपमा आएका छन् । जो आफूलाई छोटे राजा भन्छन् ।

संविधान जारी भएपछिको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएको छ । अनि तीन वटै टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा हुन्जेल ठिकठाक छ भनेर जनतालाई गफ दिन्छन्, सरकार गएको भोलिपल्टदेखि खत्तम भयो, बर्बाद भयो, सकियो भनेर कराउँछन् । र जनता रनभुल्लमा पर्छन् ।’

Skip This