नेपाली क्रिकेटमा विश्लेषकहरु बढे, खेलाडीले ज्यान दिएर खेलेका छन्: पारस



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आईसीसी टी २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटमा विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गरेका छन् ।

सोमबार ललितपुरमा क्रिकेटको विकासका लागि ६० लाख दिने सीजी फुड्सको घोषणा कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा खड्काले नेपालले १० वर्षको अन्तरालपछि टी २० विश्वकप खेलिरहेको र एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताए ।

उनले अझै तीनवटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने विश्वास व्यक्त गरे । नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको भए पनि अनावश्यक रुपमा विश्लेषण गरेर आलोचना गर्नु ठीक नभएको बताए ।

नेपाली क्रिकेट धेरै संघर्षबाट यस स्थानमा आइपुगेको भन्दै पारसले क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गरे । नेपालले विश्वका नम्बर एक देशहरुसँग खेलिरहेकाले एउटा खेलबाट मूल्यांकन गर्न नहुने बताए ।

‘लगभग १० वर्षको अन्तरालपछि हामी अहिले टी २० विश्वकप खेलिरहेका छौँ । तीन वटा म्याच बाँकी छ । फस्र्ट म्याचको रिजल्ट पछि धेरै जना क्रिकेट टिममाथिको विश्लेषकहरुको वृद्धि भएको छ,’ उनले भने, ‘क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरे नै बढेको छ । तर मेरो विनम्र अनुरोध यो छ की नेपाली क्रिकेट धेरै ने संघर्ष गरेर यहाँसम्म आइपुगेको हो । धेरै मान्छेहरुको सहयोगले यो स्थितिसम्म आएको छ । आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दैछ । नेपाल विश्वका नम्बर वान देशहरुसँग खेल्दैछ । खेलाडीहरुले जिउ-ज्यान लगाएर गर्नुभएको छ । क्यानले जे गर्नसक्थ्यो । त्यो गरेको छ । हामी सकारात्मक सोचका साथ अघि बढौँ ।’


क्लिकमान्डु