क्रिकेटको विकासका लागि ६० लाख दिने सीजी फुड्सको घोषणा, ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा



काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडद्वारा अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो ।

सीजी फुड्स नेपालले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । साथै, वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेट प्रेमीहरूमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको कम्पनीले जनाएको छ ।

यस खुसीको अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरि जम्मा ६० लाख रुपैयाँ नेपाल क्रिकेट सङ्घलाई सहयोग गर्ने जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीइओ प्रदिप पुडासैनीले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाली राष्ट्रिय टिम दोस्रो पटक आइसीसीटी २० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्स नेपालले नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ । विगत दुई दशकदेखि नेपाली क्रिकेटको सहयात्री वाइ वाइ आगामी दिनहरूमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहनेछ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरूप सुपर–८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।


क्लिकमान्डु