बजेट भाषण गर्ने समय २ घण्टापछि सर्‍यो



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले बजेट वक्तव्य संयुक्त सदनको बैठक पेश गर्ने समय सरेको छ । यसअघि संयुक्त संसदको बैठक १ बजेका लागि बोलाइएको थियो ।

अहिले त्यो समय समयलाई २ घन्टा पछि सारेर तीन बजे पुर्याइएको छ । संयुक्त बैठक बस्नुअघि मध्यान्न २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषदबाट बजेट पारित गरेर ३ बजे संयुक्त बैठकमा पेश गरिने भएको छ ।

मन्त्रिपरिषद् बस्नुअघि बजेटका बारेमा अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपतिलाई जानकारी गराउने छन् । पुनले ३ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची तय भइसकेको छ ।

नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र सङ्घीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ ।

यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ । राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते सङ्घीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


क्लिकमान्डु