बजेट आउने दिनसम्ममा ६३ प्रतिशतमात्रै खर्च, बजेट सक्न दैनिक १४ अर्ब खर्चनुपर्ने




काठमाडौं । चालु आर्थिक वर्षको जेठ १४ गते सम्ममा कुल बजेटबाट अझै ६ खर्ब ३५ अर्ब रुपैयाँ खर्च हुनै बाँकी रहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने दिनसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च ६३.७२ प्रतिशत मात्रै खर्च भएको छ ।

चालु आर्थिक वर्षको लागि कुल बजेट १७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ । यो बजेटबाट हालसम्ममा ११ खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ । आगामी आर्थिक वर्ष लाग्नु अगाडि चालु आर्थिक वर्षको असारभित्रै बजेट सक्न सरकारले अगामी ४५ दिन लगातार दैनिक १४ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने तथ्यांकले देखाएको छ ।

महालेखा परीक्षकको तथ्यांक अनुसार सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि अहिलेसम्म ८ खर्ब ६३ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ । आजसम्मको तथ्यांक अनुसार ६० प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको सरकारले अबको डेढ महिनामा बाँकी ४० प्रतिशतको लक्ष्य भेट्याउन मुश्किल छ ।

कुल बजेटबाट सरकारले अहिलेसम्ममा ७ खर्ब ८५ खर्ब रुपैयाँ चालु खर्च गरेको छ भने पुँजीगत खर्च १ खर्ब २५ अर्ब रुपैयाँ मात्रै गरेको छ । यो बजेटमा सरकारले ३ खर्ब रुप्ौयाँ वित्तीय व्यवस्था गर्ने भएपनि खर्च नै कम भएका कारण अहिलेसम्म २ खर्ब ५ अर्ब मात्रै वित्तीय व्यवस्था भएको तथ्यांकले देखाएको छ ।

पुँजीगत खर्च अर्थात विकास निर्माणमा हुने खर्च अहिलेसम्म जम्मा ४१ प्रतिशतमा मात्रै छ । यस्तो खर्च गर्न सरकारले ३ खर्बको बजेट विनियोज गरेको भएपनि जम्मा १ खर्ब २५ अर्ब रुपैयाँ मात्रै खर्च गरेको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु