तीन वायुसेवाको उडान सञ्चालन अनुमति निलम्बनमा, उड्न पाएनन् १० जहाज



काठमाडौं । आन्तरिक उडानका तीनवटा वायुसेवा कम्पनीको उडान सञ्चालन अनुमति एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) निलम्बनमा छ । आन्तरिक उडानको एउटा विमान कम्पनी र दुईवटा हेलिकप्टरको एओसी निलम्बनमा छ । एओसी निलम्बनका कारण यी वायुसेवासँग भएका १० वटा जहाज भने उड्न पाएका छैनन् ।

७ वटा विमान भएको गुण एयरलाइन्स, २ वटा हेलिकप्टर भएको मुस्ताङ र १ हेलिकप्टर भएको मनाङ एयरको एओसी निलम्बनका कारण उडान अवतरण ठप्प छ ।

आर्थिक संकटका कारण कर्मचारीको सेवा सुविधा रोकिएपछि उड्डयन सुरक्षामा कमजोरी हुने भन्दै हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षदेखि उडान गर्न रोक लगाएको गुण एयरलाइन्सका सबै जहाज अहिलेसम्म पनि ग्राउण्डेड नै छन् ।

यो वायुसेवासँग ७ वटा जहाज भए पनि जहाज ग्राउण्डेड भएपछि निलम्बनमा परेको एओसी खुलाउनले आधार अहिलेसम्म कम्पनीले पेस गर्न सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिरकणका अनुसार गुणको ५ करोड रुपैयाँ बक्यौता छ । यो वायुसेवाले उडान पुनः गर्न चाहेको भए पनि उड्डयन शर्त र नियमहरु पालन गर्न नसकेका कारण जहाज थन्किएर बसेका छन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार गुण एयरलाइन्सले उडान गर्ने भने पनि यसले आफ्नो दायित्व पूरा गर्न सकेको छैन । गुणले किस्ताबन्दीमा बक्यौता तिर्ने प्रतिवद्धता पनि पूरा नगरेको उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलबाट गुण एयरलाइन्सले पाएको इजाजतपत्रको अवधि सकिएकाले नवीकरणको प्रक्रियामा छ । मन्त्रालयबाट इजाजतपत्र नवीकरण गराएर आएपछि यसको एओसी निलम्बन फुकुवाका लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने छ ।

दुईवटा हेलिकप्टर भएको मुस्ताङ एयरले पनि कर्मचारीको दायित्व पूरा गर्न नसकेकै कारण उडान बन्द छ । यो हेलिकप्टर कम्पनीसँग एउटा मात्रै हेली थियो भने अर्को एक थप भइसक्दा पनि उड्डयन नियम पूरा गर्न नसकेको कारण २ वटै हेलिकप्टर थन्किएका छन् ।

मुस्ताङ हेलिकप्टरले आफ्नो बहुमत सेयर हिस्सा पर्वतारोही निर्मल पुर्जाको समूहलाई बिक्री गरेको छ । यो वायुसेवाले नयाँ व्यवस्थापन भित्र्याएपछि भने उडान गर्ने बताएको छ । तर कहिलेबाट उडान सुरु हुन्छ भन्ने विषयमा टुंगो लगाउन सकेको छैन ।

हेलिकप्टर दुर्घटनापछि जहाजबिहीन हुन पुगेको मनाङ एयरको पनि एओसी निलम्बनमा छ । यो वायुसेवाले एक महिनाअघि एउटा हेलिकप्टर ल्याएकोले अब आवश्यक प्रक्रिया पूरा गरेर उडान सुरु गर्ने तयारीमा छ ।

मनाङ एयरकाअनुसार एउटा हेलिकप्टर आइपुगेको छ । मनाङको हेलिकप्टरले आवश्यक प्रक्रिया पूरा गरेर एक महिनाभित्रै उडान गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।

मनाङ रनिङ एयर भएको, यसले हेलिकप्टर ल्याइसकेकोले आवश्यक प्रक्रिया पूरा गरेर एक महिनाभित्रै एओसीको निलम्बन फुकुवा गराउने गरी तयारी गरिरहेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए ।

उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर आएर दर्ता भइसकेको छ भने अब त्यसको एयर वर्दिनेस जारी हुन मात्रै बाँकी छ । मनाङ एयरले अबको डेढ महिनाभित्रै अर्को एउटा हेलिकप्टर ल्याउँदै छ । भएको हेलिकप्टर उडान गर्दै संख्या बढाउँदै जाने रणनीति लिएको मनाङ एयरका एक उच्च अधिकारीले बताए ।


क्लिकमान्डु