समुज्ज्वल आर्थिक भविष्य बोकेको कतारबाट नेपालले कसरी लिन सक्छ लाभ ?
गत साता कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गरेपछि नेपालीहरूमाझ कतारको चर्चा भइरहेको छ । सन् २०२२ को डिसेम्बरमा फूटबल विश्वकपको सफल आयोजना गर्दा नेपालमा कतारको चर्चा चुलिएको थियो भने अहिले कतारी राजाको भ्रमणले पनि त्यस देशका विषयमा नेपालीहरूमाझ चासो बढाएको छ । त्यसो त नेपाली आप्रवासी श्रमिकहरूको मुख्य गन्तव्य भएको नाताले कतारका विषयमा नेपालीहरूसँग थोरबहुत जानकारी त पहिलेदेखि नै थियो ।
कतारमा वार्षिक १ लाख बढीको संख्यामा रोजगारीका लागि नेपाल पुग्ने गरेका छन् । कतारमा हाल झण्डै ४ लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेको सरकारी तथ्यांक छ । कतारमा कार्यरत नेपालीबाट आएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ मा गरेको एक अध्ययन रिपोर्टका अनुसार नेपालले सबैभन्दा बढी रेमिट्यान्स कतारबाट भित्र्याउने गरेको छ । ‘नेपाल लेबर माइग्रेसन रिपोर्ट’काअनुसार सन् २०१९/२० को चार महिनाको अवधिमा कतारबाट मात्र ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपालमा समग्र भित्रिएको रेमिट्यान्समा कतारको हिस्सा १७.७ प्रतिशत रहेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । त्यसको ४ वर्षसम्ममा थप नेपालीहरु रोजगारीका लागि कतार पुगेका छन् ।
सामान्य आर्थिक हैसियतको मुलुक कतार कसरी धनी बन्यो भन्ने विषयमा प्रशस्त सामग्रीहरू प्रकाशित भइसकेका छन् । भविष्यमा पनि कतार अहिलेको जत्तिकै धनी रहिरहन्छ र नेपालले कतारबाट कसरी लाभ लिन सक्छ भन्ने उत्तर खोज्नु यस लेखको लक्ष्य हो ।
सन् १९७१ मा स्वतन्त्रता घोषणा गरेदेखि नै कतारले आफूसँग भएको तेल र ग्यासको निर्यात गरेर आर्थिक उचाइँ छोएको हो । आफ्नो देशको आकारभन्दा निकै ठूलो र निरन्तर वृद्धि भइरहेको अर्थतन्त्र कतारको पहिचान बनेको छ । अहिले कतारको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ७७ हजार डलर छ ।
कतारसँग रहेको तेल र प्राकृतिक ग्यासको विशाल भण्डारले उसको कुल गार्हस्थ्य उत्पादनलाई द्रुत गतिमा बढाइरहेको छ भने दिगोपनलाई ध्यानमा राख्दै कतारले अहिले आर्थिक वृद्धिका अन्य क्षेत्रहरूमा पनि अन्वेषण गरिरहेको छ ।
कतारले सन् २००८ को अक्टोबर महिनामा राष्ट्रिय भिजन २०३० को घोषणा गरेको थियो । यस महत्त्वाकांक्षी विकास योजनाले कतारलाई सन् २०३० सम्ममा पूर्ण विकसित मुलुक बनाउने परिकल्पना गरेको छ । आफ्नो विकासलाई दिगोपन दिनुका साथै भावी पुस्ताहरूले समेत उच्चस्तरको जीवनशैली अपनाऊन् भनेर कतारले भिजन बनाएको छ ।
उक्त भिजनको अध्ययन गर्दा आर्थिक विविधता त्यसको केन्द्रमा रहेको पाइन्छ । माथि पनि उल्लेख गरिएअनुसार, कतारसँग भएको प्राकृतिक स्रोतसाधनले उसलाई धनी बनाएको भए पनि अहिले ऊ क्रमिक रूपमा जीवाष्म इन्धन र ग्यासमा रहेको आफ्नो निर्भरतालाई घटाउन खोजिरहेको छ । यसका विषयमा तल चर्चा गरिनेछ ।
फूटबल विश्वकपको सफल आयोजनसँगै अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि कतारले विभिन्न उपायहरू अपनाइरहेको छ । देशको बिजनेस तथा विदेशी लगानी वातावरणलाई सकारात्मक बनाउनका लागि सन् २०१८ मै सरकारले गैरकतारी लगानीकर्ताहरूलाई सबै क्षेत्रमा शतप्रतिशत पूँजीको स्वामित्व दिने कानून पारित गरेको थियो । त्यसका साथै सरकारले कतार स्टक एक्सचेन्जमा सूचीबद्ध कम्पनीहरूमा विदेशी लगानीकर्ताको स्वामित्वको सीमालाई बढाएर ४९ प्रतिशत पुर्याएको थियो ।
विदेशी लगानीलाई थप सहज बनाउनका लागि कतारले करमा धेरै कसिकसाउ नगर्ने व्यवस्था गरेको छ । लगानीकर्ताहरूले खोज्ने आर्थिक पारदर्शिता तथा ईज अफ डुइङ बिजनेसका लागि कतारले सशक्त नियमनकारी निकाय बनाउन पनि खोजिरहेको देखिन्छ ।
अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आकर्षित गर्नुका अतिरिक्त कतारले देशको निजी क्षेत्रलाई आर्थिक अभिवृद्धिको मौका दिएर अर्थतन्त्रलाई थप बलियो बनाउन खोजेको छ । पर्यटन, खेलकुद, वित्तीय कारोबार, प्रविधि, घरजग्गा व्यवसाय र बन्दोबस्तीका सामान जस्ता उदीयमान उद्योगहरूलाई प्रवर्धन गर्नका लागि पनि उसले प्रयत्नहरू गरिरहेको छ ।
फूटबल विश्वकपका लागि बनाएका स्टेडियमहरूलाई कतारले स्वरूप परिवर्तन गरी पर्यटकीय आकर्षणका केन्द्रहरू बनाइरहेको छ । खाडीको सबभन्दा ठूलो पर्यटकीय केन्द्र बन्ने लक्ष्यका साथ कतारले भौतिक पूर्वाधारमा लगानी गरेको हो । विश्वकपले कतारप्रति विश्वको ध्यान खिचेसँगै सन् २०२३ मा मात्र ४० लाख पर्यटकले कतारको भ्रमण गरेका थिए । त्यसभन्दा अघिल्ला वर्षको भन्दा यो निकै ठूलो संख्या हो । पर्यटकहरूले गर्ने खर्चबाट उठ्ने राजस्वलाई आर्थिक दिगोपनको प्रमुख योगदानकर्ताका रूपमा कतारले विकसित गराउन खोजिरहेको छ ।
त्यसका साथै कतारले दिगो विकासलाई पनि प्राथमिकतामा राखेको छ । त्यसो त कतारको अर्थतन्त्रको मियो नै तेल र ग्यास भण्डार हो तर त्यसलाई कतारले अल्पकालीन र मध्यमकालीन आयआर्जनको माध्यमका रूपमा मात्र हेरिरहेको छ । वास्तवमा हरित अर्थतन्त्रतर्फ पाइला चाल्दै कतारले सन् २०३० सम्म नवीकरणीय स्रोतमार्फत २० प्रतिशत बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ भने सन् २०५० सम्म कार्बनरहित ऊर्जाको दीर्घकालील लक्ष्य समेत बनाएको छ । अहिले कतारले सौर्य ऊर्जा र फोहरमैलाबाट निकाल्न सकिने ऊर्जामा व्यापक जोड दिइरहेको छ ।
संसारभरि दिगो विकासका लागि पहल भइरहँदा कतार पनि त्यसमा सहभागी हुनु स्वाभाविक हो । तर कतारलाई दिगो विकासका लागि प्रेरित गर्ने अर्को कारण पनि छ । तटीय क्षेत्रको मुलुक भएको नाताले कतार बढ्दो सामुद्रिक जलस्तरको जोखिममा रहेको छ । अनि कतारको सुक्खा मरुभूमीय जलवायुले असह्य गर्मी र अनावृष्टिको जोखिम पनि बढाउने भएकाले दिगो विकास कतारको अस्तित्वका लागि नै पनि जरूरी भइसकेको छ ।
हालैका वर्षमा कतारले सौर्य र वायु ऊर्जा दोहन गर्नका लागि अनेकौं परियोजनाहरू आरम्भ गरेको छ । अल खारसाह सोलार प्लान्ट अहिले संसारकै सबभन्दा ठूलोमध्ये एक हो र यसले देशको कुल विद्युतीय मागको १० प्रतिशत आपूर्ति गर्ने गरेको छ । कतारी मरुभूमिमा सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध हुनाले अल खारसाह जस्ता परियोजनाले कतारलाई वर्षौंसम्म ऊर्जा आपूर्ति गरिरहनेछन् ।
त्यसैगरी कतारले दिगो भौतिक निर्माण र शहरी योजनामा पनि जोड दिइरहेको छ । विगत एक दशकमा कतारले अनेकौं स्मार्ट सिटीहरू बनाएको छ । त्यस्ता शहरमा ऊर्जा बचत तथा कार्बन उत्सर्जनमा कमीका अनेकौं रणनीतिहरू अपनाइएका छन् ।
राजधानी दोहाबाट जम्मा १५ किलोमिटर उत्तरतर्फ रहेको लुसेल दिगो अर्थतन्त्रमा आधारित कतारको पहिलो शहर हो । त्यहाँ वातावरणमैत्री संरचनाका साथै आवासीय भवनका हरित मापदण्डहरू अपनाइएका छन् । लुसेलमा प्रचण्ड गर्मीमा समेत कम ऊर्जा व्यय हुने गरी शीतलता दिलाउने कूलिङ प्रणालीका कारण प्रत्येक वर्ष करोड टनभन्दा बढी कार्बनडाइअक्साइडको बचत भइरहेको तथ्यांक पाइन्छ । यस्तो प्रविधि अपनाएर कतारले आफूलाई भविष्यको सुस्पष्ट भिजन भएको राष्ट्रका रूपमा उभ्याएको छ ।
माथि पनि उल्लेख गरिएअनुसार, कतारले प्रविधिको क्षेत्रमा व्यापक लगानी गर्न खोजिरहेको छ । प्रविधिबाट उपलब्ध हुने लाभको सही उपयोगमार्फत कतारले भिजन २०३० का लक्ष्य पूरा गर्न खोजिरहेको हो ।
प्रविधि क्षेत्रका स्टार्टअपहरूलाई विकास गर्नका लागि कतार सरकाले विभिन्न पहल थालेको छ । नयाँ स्टार्टअपलाई कारोबार दर्ता र नवीकरण निःशुल्क बनाइएको छ भने तिनीहरूलाई शुरूको पाँच वर्ष करछुट पनि दिइएको छ । अनुसन्धान तथा विकास केन्द्रहरूलाई पनि त्यस्तै किसिमको सहजता उपलब्ध छ ।
वास्तवमा कतारले ज्ञानमा आधारित अर्थतन्त्र विकसित गराउन खोजेको छ र त्यसको केन्द्रमा नयाँ प्रविधिहरूलाई राखेको छ । कतारी नागरिकहरूलाई प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन गर्नका लागि कतारले विशिष्ट लक्ष्यहरू निर्धारित गरेको छ । भविष्यलाई डिजिटल र एआई प्रविधिले नै डोहोर्याउने सुनिश्चित भएकाले कतारले त्यसलाई नै विचार गरी अत्याधुनिक प्रविधिमा दक्ष जनशक्ति विकसित गर्न खोजिरहेको हो ।
प्रविधिले कतारी समाजलाई परिवर्तित गरिसकेको छ । कतारका स्मार्ट सिटीहरूमा ५जी प्रविधि र फाइबर अप्टिक नेटवर्कहरू उपलब्ध छन् जसले गर्दा व्यापारिक संस्था र सामान्य व्यक्तिहरूलाई हरसमय अनलाइनमा बसेर कारोबार गर्न सहज भएको छ । कतार साइन्स यान्ड टेक्नोलोजी पार्कले माइक्रोसफ्ट जस्ता अग्रणी प्रविधि कम्पनीहरूलाई आकर्षित गरिरहेका छन् ।
कतारले डिजिटल प्रविधिमा आधारित भविष्यलाई साकार बनाउनक लागि कृत्रिम बौद्धिकता (एआई), डेटा एनालाइटिक्स र रोबोटिक्समा जोड दिइरहेको छ । यी प्रविधिहरूमार्फत कम्पनीहरूले कम सञ्चालन खर्चमा आफ्नो उत्पादकत्व बढाउन सक्छन्।
यसरी कतारले सुदूर भविष्यको भिजन राखेर आफ्नो अर्थतन्त्रलाई क्रमशः अनुकूलन गर्दै गइरहेको देखिन्छ । कतारको यस प्रयासलाई हेर्दा भविष्यमा उसको आर्थिक शक्ति थप अभिवृद्धि हुने निष्कर्ष निकाल्न सकिन्छ ।
नेपालले कसरी लाभ लिन सक्छ ?
कतारी-नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएको लामो समय भएको छ । दुई देशबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । लामो कूटनीतिक सम्बन्ध भए पनि नेपालले आप्रवासी कामदार पठाउने बाहेकमा खास ध्यान दिन सकेको देखिएको छैन ।
दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता भएको थियो भने सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेको थियो । त्यसपछि सानो मात्रामा कतारी लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् । अमिर थानीले नेपाललाई दिएको प्राथमिकताले कतारीहरु नेपालमा लगानीका लागि आकर्षित हुने छन् भन्ने विश्वास गर्न सकिन्छ ।
नेपालीको संख्या कतारमा उल्लेख्य भए पनि नेपाल र कतारबीचको वैदेशिक व्यापार भने कमजोर छ । त्यसलाई सुधार गर्न गर्ने गरि काम गर्न आवश्यक छ । नेपालले पछिल्लो १० वर्षको अवधिमा कतारसँग २२ अर्ब ९ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ तर नेपालको निर्यातको हिस्सा निकै कमजोर रहेको भन्सार विभागको तथ्यांक छ । नेपालले १० वर्षमा कतारबाट २१ अर्ब ६५ करोड २२ लाख रुपैयाँकै वस्तु तथा सेवा आयात गर्दा नेपालले ४४ करोड ३ लाख रुपैयाँको मात्रै निर्यात गरेको तथ्यांक छ ।
नेपालबाट कफी, चिया, पिउने पानी, मसला, अलैँची लगायतका बस्तु कतार निर्यात हुने गरेको छ । यसलाई थप बढाउन राष्ट्रिय स्तरमा पहल हुन आवश्यक छ ।
कतारी लगानीकर्ताले नेपालको हिमाली क्षेत्रको पानीमा लगानी गर्न र ३ हजार मिटरभन्दा माथिको भू-भागको पर्यटनमा चासो देखाएको छ । कतारी राजाको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालका अनुसार पानी, नवीकरणीय उर्जा, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानीका लागि कतारको चासो रहेको छ । यी बाहेकका लगानीका क्षेत्रहरु स्पष्ट गरेर नेपाली पक्षले कतारलाई आकर्षित गर्न सक्नु पर्छ ।
लगानीकर्ता आकर्षिक गर्ने योजना सरकारले तत्काल बनाउन सक्नुपर्छ भने लगानीकर्ताका लागि झण्झट हुने खालका कानूनहरुको सुधार गर्न सके कतारजस्ता देशबाट नेपालले फाइदा लिन सक्छ ।