चिनी चामलको मूल्य नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र



काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले प्रमुख खाद्यान्नको बजार मूल्य नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालदाई ज्ञापन पत्र बुझाएको छ ।

पछिल्लो समयमा चामल, दाल, चिनी, खानेतेललगायतका मूल्य अस्वाभाविक रुपमा बृद्धि हुँदै गएको भन्दै मञ्चले बजारलाई व्यवस्थित गर्न प्रधानमन्त्री दाहालसँग मागसमेत गरेको छ ।

दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको चिनी, चामल, गहूं, मकैं, दाल, तेल जस्ता वस्तुहरु नेपालमा पर्याप्त परिमाणमा उत्पादन हुन नसक्दा माग पूरा गर्न भारतसहित तेश्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै मञ्चले अघिल्लो सरकारको अर्थ मन्त्री डा. प्रकाशशरण महत कालोबजारी, तस्कर र बिचौंलियासँग मिलोमतो गरी समयमै चामल, चिनी, गहुँजस्ता अत्यावश्यक वस्तु आयात गर्न अनुमति नदिंदा यस्ता खाद्यान्नको मूल्य बढ्दै गएको बताएको छ ।

‘प्रधानमन्त्रीको निर्देशन, संसदीय समितिको निर्देशन, आपूर्ति मन्त्रालयको आग्रहलाई तत्कालिन अर्थमन्त्री महतले नजरअन्दाज गरेकाले ९० रुपैयाँमा झरेको चिनीको मूल्य बढेर अहिले ११० रुपैयाँमा पुगेको छ,’ ज्ञापन पत्रमा उल्लेख छ,‘मोटा चामल र जिरा मसिनो चामलको प्रतिबोरामा अहिले ८०० रुपैयाँसम्म बढेको छ । आँटा र मैदाको मूल्य ३० प्रतिशतले बढेको छ ।’


क्लिकमान्डु