सांसदको गुनासोः श्रम र ऊर्जा मन्त्री सहकारी ठगीमा छन्, लोगो लगाएर हिँड्दा हामीलाई सहकारी ठग भन्छन्



काठमाडौं । मन्त्रीहरु सहकारी ठगीमा जोडिएपछि सामान्य सांसदहरु सार्वजनिक यातायात चढेर हिँड्न नसक्ने अवस्थामा पुगेको गुनासो सांसदले गरेका छन् ।

गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डीपी अर्याल र ऊर्जा मन्त्री शक्ति बस्नेत सहकारी ठगीमा मुछिएपछि सांसदको लोगो लगाएर हिँड्दा आफूहरुलाई पनि मानिसहरुले सहकारी ठग भनेको गुनासो प्रतिनिधि सभा बैठकमा सांसदले गरेका छन् ।

पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्याल र ऊर्जा मन्त्री बस्नेत ‘हाम्रो नयाँ कृषि सहकारी संस्था ठगी प्रकरणमा जोडिएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसद रमा कोइराला पौडेलले सहकारी ठगी प्रकरणमा श्रम मन्त्री अर्याल र १० वर्ष जनयुद्ध गरेर आएका नेतासमेत रहेका मन्त्री बस्नेतको पनि नाम जोडिएको बताइन् । गृहमन्त्री सहकारी ठगीमा मुछिए पनि छानबिन नभएको र अरु पनि थपिएको उनको भनाइ छ ।

मन्त्रीहरु नै सहकारी ठगी प्रकरणमा जोडिने र त्यो विषयमा छानबिन नहुँदा सांसदहरुलाई सार्वजनिक सवारी चढ्दा लोगो लगाएर हिँडौ की नहिडौं भन्ने अन्यौल भएको उनले बताइन् बताइन् । अर्याल सहकारीको उपाध्यक्ष हुँदा बचतकर्ताले ४ करोड ९२ लाख रुपैयाँ बचत फिर्ता नपाएको भन्दै सहकारी विभागका उजुरी दिएका थिए । बस्नेत सहकारीका संस्थापक अध्यक्ष हुन् ।

उनीहरुले नै सहकारीमा गोर्खा मिडिया नेटवर्क जिबी राईलाई भित्र्याइएको र राईले बचतकर्तालाई ठग्ने काम गरेको बताइएको छ । उक्त सहकारी अहिले समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १२ गते ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’लाई समस्याग्रस्त घोषणा गरेको थियो ।

मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएको छ । सहकारी विभागको सिफारिसमा माघ १२ गते समस्याग्रस्त घोषणा गरेको हो ।

संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएपछि कार्यालयले सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न सूचना जारी गरिसकेको छ ।


क्लिकमान्डु