संसदमा कांग्रेसको प्रश्न: रविविरुद्धको उजुरी कागजको चिर्कटोमा नलेखेर के स्वर्णपत्रमा लेख्ने हो ?



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने अडान कायम रहेको जनाएको छ । सहकारी ठगी सम्बन्धी आरोपबारे छानबिन नभएसम्म उनले पदबाट राजीनामा दिनुपर्ने कांग्रेसको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद प्रतिमा गौतमले कुनै संलग्नता नभए संसदीय छानबिन समिति बनाउने कुरामा डराउन आवश्यक नभएको बताइन् ।

‘छानबिन समिति गठन गरौँ भन्दा किन यति धेरै पसिना आयो ? हामीले बुझ्न चाहेका छौँ यहाँ गम्भीर प्रश्नहरू लुकेका छन्’ उनले भनिन् ।

उनले प्रधानमन्त्रीले संसदमा आएर गृहमन्त्रीमाथि परेको उजुरी अयोग्य रहेको फैसला गरेको र लामिछानेले आफूमाथि परेको उजुरीलाई कागजको चिर्कटोको संज्ञा दिएको भन्दै उजुरी कागजमा नलेखेर ताम्रपत्रमा लेख्ने हो भन्दै प्रश्न गरिन् ।

‘प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्रीमाथि परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ। आरोपी गृहमन्त्री आफूलाई परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ । उजुरी त कागजमै लेख्ने होला नि कि ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने भए त्यो पनि जानकारी गराइदिए हुन्थ्यो नि’ उनले भनिन् ।


क्लिकमान्डु