माधव नेपाललाई कोटेश्वर पुगेर प्रधानमन्त्रीको प्रस्ताव: सरकारमा आउनुस्, सँगै मिलेर जाऊ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

सोमबार राति एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटेका प्रधानमन्त्री दाहालले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुनु आग्रह गरेको जानकारी दिए ।

जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताए ।

‘स्वास्थ्यका बारेमा कुराकानी भयो । त्यसपछि विकसित राजनीतिका बारेमा कुराकानी भयो । प्रधानमन्त्रीले सरकारमा आउनुस्, सँगै मिलेर जाऊ भन्नुभयो । अध्यक्षले पार्टीभित्र छलफल गरेर निर्णय दिने बताउनुभयो,’ उनले भने ।

बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा पार्टी उपाध्यक्ष एवं निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई लिएर कोटेश्वर पुगेका थिए ।

कांग्रेससँगको गठबन्धन टुटाएका प्रचण्डले एमाले लगायतका दलहरुसँग नयाँ गठबन्धन बनाउँदै सरकार पुनर्गठन गरेका छन् ।


क्लिकमान्डु