पर्यटनमन्त्री सुदन किराँतीले एकैपटक २९ जना आफू निकटलाई दिए सरकारी नियुक्ति



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एकै पटक २९ जनालाई आफन्तलाई नियुक्ति दिएका छन् ।

पर्यटनमन्त्री किराँतीले गत चैतमा पुरानालाई हटाएर नयाँ नियुक्ति गर्न कार्यविधि परिवर्तन गरेका थिए । कार्यविधि परिवर्तन गरेपछि उनले १९ मुलुकका लागि २९ जनालाई नियुक्ति दिएका हुन् ।

पर्यटन मन्त्रालयका अनुसार यसअघि पर्यटन दूतका रूपमा नियुक्ति हुने गरेका पर्यटन प्रवर्धकलाई व्यवस्थित बनाउन भन्दै मन्त्रालयले कार्यविधि जारी गरेको थियो ।

नेपाल पर्यटन बोर्डले आवश्यकताका आधारमा नियुक्ति गरिने पर्यटक प्रवर्धकको नियुक्ति पूर्वपर्यटनमन्त्री प्रेम आलेले रोकेका थिए । आले र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीबीच कुरा नमिल्दा पर्यटन मन्त्रालयले हस्तक्षेप गरेर पर्यटन सद्भावना दूत आफैंले नियुक्त गर्न थालेका थिए ।

आलेले नियुक्त गर्न ठिक्क पारेका व्यक्तिलाई नेकपा समाजवादी पार्टीबाटै मन्त्री बनेका जीवनराम श्रेष्ठले नियुक्त गरेका थिए ।

श्रेष्ठले जाँदाजाँदै २६ जनालाई नियुक्त गरेका थिए । श्रेष्ठले नियुक्ती गरेका सबै पर्यटन दूतको नियुक्ति बदर गर्दै पर्यटनमन्त्री किराँतीले गत चैतमा पर्यटन प्रवर्धकका रूपमा नियुक्ति दिने गरी नयाँ कार्यविधि ल्याएका हुन् ।

पर्यटन प्रवर्धक हुन तोकिएको योग्यता खुलाएका र योग्यता नै नखुलाई आवेदन दिनेहरूले एउटै देशका विभिन्न सहरमा नियुक्त भएका छन् ।


क्लिकमान्डु