प्राधिकरण र उद्योगीहरुबीचको डेडिकेटेड लाइन बिबाद चाँडै समाधान हुन्छ: अर्थमन्त्री



मोरङ । अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युत प्राधिकरण र उद्योगीहरु बीचको डेडिकेटेड तथा ट्रंकलाइनबारे रहेको बिबाद चाँडै समाधान हुने बताएका छन् ।

मोरङ व्यापार संघद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पा-२०२३ को सोमबार समापन समारोहमा अर्थमन्त्री महतले सरकार नीजी क्षेत्रमैत्री रहेकोले सम्झौता भएको छ कि छैन सबै यथार्थको आधारमा प्राधिकारण र उद्योगीबीच रहेको समस्या समाधान गर्न सम्वन्धित स्थानमा आवाज उठाउने विश्वास दिलाए ।

अर्थमन्त्री डा. महतले सरकारले विदेशी सहयोगलाई पुनः संरचना गर्ने नीति लिएको बताँउदै अत्यावश्यक एवं प्रतिफल दिने क्षेत्रमा मात्र विदेशी सहयोग र ऋण लिने जानकारी दिए । उनले आगामी वैशाखमा सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन मुख्य चार क्षेत्र जलविद्युत, सूचना प्रविधि , पर्यटन र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने नीति लिएको बताए ।

अर्थमन्त्री डा. महतले निजीकरण समितिको चाँडै बस्ने बैठकले मुलुकमा बन्द भएका उद्योगहरुलाई निजी क्षेत्रलाई संलग्न गराएर जमीन चै राज्यको रहने गरी सञ्चालन गर्ने जानकारी दिए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मुलुकको आर्थिक चलायमन गराउन बैंकले उद्योग प्रवद्र्धनमा सहयोग गर्नुपर्ने सुझाव दिए ।

संघका अध्यक्ष नविन रिजाल र पूर्व अध्यक्ष प्रकाश मुन्दडा र नेपाल उद्योग परिसंघ प्रदेश अध्यक्ष पवन शारडाले उद्यमीहरुका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गरे । एक्स्पो यही पुस ६ गतेदेखि विराटनगर–२ मुनालपथमा सञ्चालन भएको थियो ।


क्लिकमान्डु