महँगी २६ महिनायताकै कम, कात्तिकमा भारतमा भन्दा न्यून मूल्यवृद्धि



काठमाडौं । कात्तिकमा महँगी घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजको तुलनामा कात्तिकमा महँगी ०.२२ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको कात्तिकमा गत वर्षभन्दा ५.३८ प्रतिशतले महँगी बढेको छ । गत वर्षको कात्तिकमा ८.०८ प्रतिशतले महँगी बढेको थियो ।

२०७८ फागुनमा रुस-युक्रेन युद्ध सुरु हुनुका साथै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएपछि महँगी वृद्धिदर ६ प्रतिशतभन्दा माथि थियो । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै भारतमा समेत महँगी घट्दा नेपालमा मूल्यवृद्धि घटेको हो।

चालु आर्थिक वर्षको कात्तिकमा २६ महिनायताकै न्यून मूल्यवृद्धि देखिएको छ । यसअघि २०७८ असोजमा अघिल्लो वर्षको तुलनामा ४.२४ प्रतिशतले महँगी बढेको थियो ।

कात्तिकमा भारतभन्दा नेपालको मूल्यवृद्धि कम छ । राष्ट्र बैंकका अनुसार कात्तिकमा भारतमा ५.५५ प्रतिशत महँगी बढेकोमा नेपालमा ५.३८ प्रतिशतमा सीमित छ ।

असोजमा नेपालमा मूल्यवृद्धि ७.५ प्रतिशत हुँदा भारतमा ४.८७ प्रतिशत थियो । चालु आर्थिक वर्षको ४ महिनामा नेपालको औसत महँगी वृद्धिदर ७.१५ प्रतिशत हुँदा भारतमा ५.५७ प्रतिशत छ ।

चालु आर्थिक वर्षमा सरकारले महँगी ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । कात्तिकमा खाद्य पदार्थको मूल्यवृद्धि ६.०१ प्रतिशतले बढ्दा गैरखाद्यपदार्थको मूल्य ४.८९ प्रतिशतले बढेको छ ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको कात्तिकमा तरकारीको मूल्य ५.३५ प्रतिशत र घ्यू तेलको १४.२३ प्रतिशतले घट्दा दालको मूल्य १२.०२ प्रतिशत, दुग्ध पदार्थको ११ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, चिनीको १४.५९ प्रतिशत र मसलाको मूल्य ३६.४६ प्रतिशतले बढेको छ ।

यस्तै, राष्ट्र बैंकका अनुसार सुर्तिजन्य पदार्थको मूल्य १.२५ प्रतिशत, माछामासुको मूल्य १.४१ प्रतिशत र मदिराको मूल्य ५.४६ प्रतिशतले बढेको छ ।

गैरखाद्यपदार्थमा यातायात क्षेत्रको मूल्य १.८६ प्रतिशतले घट्दा लत्ताकपडाको ४.९६ प्रतिशत, घरको ४.३२ प्रतिशत र स्वास्थ्यको ३.४९ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु