गरिब देशहरुको ऋण सेवा भुक्तानी लागत ३९ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण



एजेन्सी । सन् २०२३ र २०२४ मा विश्वका २४ वटा गरिब देशहरुको ऋण सेवा भुक्तानीको लागत ३९ प्रतिशतले बढ्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकको पछिल्लो रिपोर्टकाअनुसार सन् २०२२ मा विकासोन्मुख देशहरुले ५ सय खर्बभन्दा धेरै सार्वजनिक ऋण तिरेका छन् ।

प्रतिवेदनकाअनुसार चार दशकमा विश्वव्यापी रुपमा बढ्दै गएको ब्याजदरका बीच विकासशोन्मुख देशहरुले सन् २०२२ मा बाह्य सार्वजनिक ऋणका लागि ४४३.५ बिलियन अमेरिकी डलर (५ सय खर्ब ९१ अर्ब ६६ करोड ६२ लाख ५४ हजार नेपाली रुपैयाँ) खर्च गरेका हुन् । सार्वजनिक ऋणमा नै धेरै खर्च हुँदा स्वास्थ्य, शिक्षा र वातावरणजस्ता महत्वपूर्ण क्षेत्रहरुमा आर्थिक स्रोत संकुचन भएको प्रतिवेदनमा उल्लेख छ ।

विकासोन्मुख देशहरुका लागि साँवा र ब्याज समावेश रहने ऋण सेवा भुक्तानीका अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढेको छ । विश्व बैंकको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडिए)बाट ऋण लिन योग्य रहेका ७५ वटा देशहरुले सन् २०२२ मा ८८.९ बिलियन अमेरिकी डलर बराबरको ऋण तिरेका छन् । विगत एक दशकमा यी देशहरुले तिर्ने ब्याज भुक्तानी चार गुणाले बढेर सन् २०२२ मा २३.६ बिलियन अमेरिकी डलरको एतिहासिक उच्च बिन्दुमा परेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।


क्लिकमान्डु