विकास साझेदारका प्रतिनिधिलाई अर्थमन्त्रीले भने- लगानी सम्मेलनअघि कन्ट्री रेटिङ गर्छौं



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न हुने बताएका छन् ।

अर्थ मन्त्रालयमा सोमबार लगानी सम्मेलनका विषयमा भएको छलफलमा विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिले नेपालको कन्ट्री रेटिङ हुन नसक्दा लगानी प्रभावित भएको बताएपछि अर्थमन्त्रीले वैशाखअघि नै रेटिङ भइसक्ने जवाफ दिएका हुन् ।

वैशाखमा आयोजना हुने लगानी सम्मेलनका विषयमा नेपालमा काम गरिरहेका विभिन्न विकास साझेदारलाई जानकारी दिन अर्थ मन्त्रालयले बैठक आयोजना गरेको हो ।

बैठकमा अर्थमन्त्री महतले लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने भए पनि नेपालमा काम गरेको अनुभवका आधारमा लगानी आकर्षित गर्न नेपाल सरकारले गर्नुपर्ने कामका विषयमा सुझाव मागेका थिए ।

`नेपालमा जलविद्युत, पर्यटन, सफ्टवेयरलगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना छ, हामी नीति र कानुनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर दिन्छौं,’ महतले भने, ‘हामी राम्रा र नराम्रा अनुभवलाई सुन्न र समस्या समाधान गर्न तयार छौं ।’

महतले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जान सक्यो भने मात्रै नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताए ।

‘संसारमा लगानीको सीमित स्रोत छ, माग धेरै ठाउँमा छ,’ उनले भने, ‘निजी लगानीकर्तालाई सहज वातावरण नबनाउँदासम्म लगानी आउन सक्दैन । निजी लगानी ल्याउनु निकै कठिन काम हो । हामीले सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानुन र अन्य कानुनमा पनि सुधार गर्नुपर्नेछ । त्यसका लागि हामी प्रतिबद्ध छौं ।

बैठकमा मुख्य सचिव बैकुण्ठ अर्यालले संरचनात्मक र नीतिगत सुधारका विषयमा काम गर्न आफूहरू तयार रहेको बताए । `यसपटक हामीले कुन क्षेत्रमा कस्तो सुधार गर्ने भनेर विभिन्न टिम बनाएका छौं,´ अर्यालले भने, `टिमले दिने सुझावका आधारमा कानुन संसोधन र अन्य निर्णय गर्ने तयारी छ ।´

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यसपटक वास्तविक लगानीकर्तालाई ल्याउने गरी काम गरिरहेको बताए । बैठकमा विकास साझेदार संस्थाका प्रतिनिधिले विदेशी लगानीकर्तालाई नीतिगत र कानुनी स्थायित्व दिनुपर्ने बताए । यस्तै, अफसोर कम्पनीबाट हुने कारोबारको कानुनी प्रस्टता प्रदान गर्नुपर्ने पनि उनीहरुको भनाइ छ ।


क्लिकमान्डु