मल्होत्राले ५ अर्बमा सुरु गरे देशकै पहिलो रियल इस्टेट पब्लिक कम्पनी, टाउनसिपसम्म बनाउने योजना
काठमाडौं । नेपालमा घरजग्गा व्यवसाय कारोबारलाई व्यवस्थित बनाउनका लागि पहिलो पब्लिक कम्पनी दर्ता भएको छ ।घरजग्गा व्यवसायीहरुले लामो समयदेखि पब्लिक कम्पनीको विस्तार गरी घरजग्गा कारोबार गर्ने भन्दै आए पनि हालसम्म कुनै पनि कम्पनी दर्ता हुन सकेको थिएन ।
पब्लिक कम्पनीको रुपमा विस्तार गर्नका लागि ठूलो रकमको आवश्यकता भएकाले घरजग्गा व्यवसायीहरुले लगानी गर्न सकेका थिएनन् । नेपाल घरजग्गा आवास विकास महासंघले घरजग्गा कारोबारलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउनका लागि ५० अर्ब लगानीको कम्पनी बनाउने योजना बनाएको छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण काम अघि बढाउन नसकेको महासंघले जनाएको छ ।
तर, घरजग्गा व्यवसायी दिपक मल्होत्राले भने अर्थतन्त्रमा समस्या भएकै बेला घरजग्गा व्यवसायमा पहिलो पब्लिक कम्पनीको रुपमा ‘रियल इस्टेट म्यानेजमेन्ट’दर्ता गरेका छन् ।
व्यवसायी मल्होत्राले करिब ८ महिनाअघि नै विभागमा कम्पनी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनकाअनुसार कम्पनीले अहिले कारोबार गर्न सुरु गरिसकेको छ ।
नेपालको लागि सामसङ ब्राण्ड मोबाइलको आधिकारिक विक्रेता र साङयोङ गाडीको आयात गरी बजारमा बिक्री वितरण गर्दै आएका मल्होत्राले नेपालमा घरजग्गा व्यवसायमा पहिलो कम्पनी दर्ता गरेका हुन् । उनले काठमाडौंस्थित कालिकास्थानमा सिल्भर सिटी निर्माण गरेका छन् ।
उपत्यकामा बढ्दो अव्यवस्थित बसोबास र घरजग्गा महंगीले गर्दा सहजै घरजग्गा जोड्न सक्ने अवस्था छैन । साथै, खरिद गर्ने व्यक्तिहरुले पनि इच्छाअनुसारको स्थानमा कम मूल्यमा घरजग्गा पाउँदैनन् । त्यसैले, व्यवसायीहरुले व्यवस्थित र मर्यादित बसोबासको कार्यक्रमलाई अगाडि बढाउनका लागि कम्पनीको आवश्यकता रहेको बताउँदै आएका छन् ।
व्यवसायी मलहोत्राले घरजग्गाको व्यापारलाई सहज बनाउन कम्पनी दर्ता गरेको बताए । उनले दुई वर्ष अगाडि नै काम सुरु गर्ने योजना बनाएका थिए । तर, आर्थिक मन्दीले गर्दा कम्पनी दर्ताको कार्य अगाडि बढाउन समस्या भएको उनको भनाइ छ ।
पछिल्ला दिनहरुमा आर्थिक सूचकांकहरुमा सुधार हुँदै गएकाले कम्पनी दर्ता गरेको मल्होत्राको भनाइ छ ।
‘कम्पनीले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा १८ रोपनी क्षेत्रफलमा कार्य अगाडि बढाएको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘अहिले जग्गाको विकास गर्ने काम भइरहेको छ ।’
जग्गा विकास गर्ने काम भइरहँदा हालसम्ममा करिब १२ वटा प्लट बिक्री भइसकेको उनले बताए । पछिल्लो समय घरजग्गा कारोबारमा चहलपहल बढेको उनले बताए ।
कम्पनीले पहिलो चरणमा सुरु गरेको आयोजनाबाट ग्राहकको आवश्यकताअनुसार बिक्री गर्ने भएको छ । ‘कम्पनीले १८ रोपनीको क्षेत्रफललाई प्लटिङ गरेर जग्गाको विकास गरिरहेको छ । त्यसमा जग्गा खरिद गर्न इच्छुकलाई जग्गा बिक्री गरिरहेको छ भने हाउजिङ खरिद गर्ने सर्वसाधारणलाई हाउजिङ निर्माण गरी सुविधा दिनेछौं,’ उनले भने ।
उक्त कम्पनी प्लटिङ, हाउजिङ र अपार्टमेन्टसहित रियल इस्टेटसँग सम्बन्धित सबै क्षेत्रको काम गर्ने गरी स्थापना भएकाले सर्वसाधारणको आवश्यकताअनुसार सुविधा दिने उनले बताए । कम्पनीले भैंसेपाटीमा ५६ वटा प्लट तयार गरेको छ । त्यसमा चार आना दुई दामदेखि ७ आनासम्मको जग्गाको तयार गरेको उनले बताए । उक्त क्षेत्रमा औसत प्रतिआना ४० लाख रुपैयाँ पर्ने उनले बताए ।
कम्पनीले पहिलो चरणको आयोजना सम्पन्न भएपछि दोस्रो चरणमा धापाखेल र तेस्रो चरणमा बसुन्धारामा कार्य अगाडि बढाउने तयारी गरेको छ । उनकाअनुसार धापाखेलमा ५५ रोपनी क्षेत्रफलमा जग्गाको विकास गरी सुविधा दिनेछ । त्यस्तै, बसुन्धारामा भने ७ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ ।
कम्पनीले सुरुमा विराटनगरबाट आयोजना अगाडि बढाउने तयारी गरेको थियो । तर, घरजग्गा क्षेत्रमा समस्या आएका कारण आयोजना अगाडि नबढेको उनको भनाइ छ । ‘अहिले काठमाडौं उपत्यकाबाहेक बाहिरी स्थानमा घरजग्गा कारोबार नै छैन,’ उनले भने, ‘विराटनगरको आयोजनालाई थाती राखेर कारोबारमा सुधार आएपछि विराटनगरमा आयोजना अगाडि बढाउँछौं ।’
कम्पनीले विराटनगरमा ५२ विगाह क्षेत्रफलमा टाउनसिप बनाउने योजना बनाएको छ । त्यसमा कम्पनीले जग्गाको तयारी गरिरहेको उनले जानकारी दिए । उनकाअनुसार उपत्यकाबाहिर कारोबार हुनका लागि समय लाग्ने भएकाले उपत्यकाको योजना सफलतापूर्वक सम्पन्न गरीसकेपछि विराटनगरको आयोजना तीब्र गतिमा अगाडि बढाउने तयारी गरेको हो ।
कम्पनीमा मल्होत्रासहित परिवारको सदस्य गरी ५० प्रतिशत र बाँकी ५० प्रतिशत अन्य लगानीकर्ताको स्वामित्व छ । कम्पनीले ५ अर्ब कुल पुँजी लगानीको उद्योग दर्ता गरेको हो । जुन घरजग्गा व्यवसायीमा हालसम्मकै ठूलो लगानी हो । त्यस्तै, कम्पनीले नाफा कमाएर बुक बिल्डिङमार्फत् प्राथमिक सेयर (आईपीओ) जारी गर्ने योजना बनाएको छ । कम्पनीले घरजग्गा व्यवसायलाई व्यवस्थित, मर्यादित र एकीकृतरुपमा कारोबार गर्ने उद्देश्य लिएको छ ।